हिमाली भालुले साइरनलाई टेरेन : रोक्न लगाइएको तारजालीबाटै उक्लिएर अन्नबाली सखाप पारेपछि गाउँलेको रात्रीकालीन गस्ती शुरु

हिमाली भालुले साइरनलाई टेरेन : रोक्न लगाइएको तारजालीबाटै उक्लिएर अन्नबाली सखाप पारेपछि गाउँलेको रात्रीकालीन गस्ती शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ भाद्र २०८२
  • 4.4K
    Shares

पोखरा, १५ भदौ २०८२ ।

खान तयार भएको अन्नबाली हिमाली भालुले सखाप पार्न थालेपछि मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङ गाउँका स्थानीय बासिन्दा समूह बनाएर रात्रीकालिन गस्ती गर्न शुरु गरेका छ्न।

हिमाली भालुको आतङ्कले बालीनाली सखाप पार्ने क्रम नरोकिएपछि चिमाङ गाउँका स्थानीय बासिन्दा समूह बनाएर रात्रीकालिन गस्ती गर्न शुरु गरेका हुन्। उनीहरुले गाउँमा पाँच-पाँच जनाको सातवटा समूह बनाएर पालैपालो मध्यरातीसम्म भालु धपाउन गस्ती गर्न थालेका स्थानीय सुकबहादुर विश्वकर्माले जानकारी दिए।

समुद्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको चिमाङ गाउँ बेनी–जोमसोम सडकमार्गको कालीगण्डकी पारि अग्लो भिरालो स्थानमा अवस्थित छ । घनाजङ्गलको फेदमा अवस्थित त्यहाँका किसानलाई खेतबारीमा लगाएको अन्नबाली जोगाउन धौधौ परेको छ । त्यहाँ उवा र जौँबाहेक सबै अन्नबाली भालुले सखाप पारिदिने गरेको छ ।

किसानले उत्पादन गरेको स्याउ, फापर, मकै, सिमी र हरियो ताजा तरकारीलगायत अन्नबाली कालो भालु रातको समयमा खेतबारीमा पसेर सखाप पारिदिने गरेको स्थानीय किसानको गुनासो छ । यो समस्या यहाँका किसानले वर्षौँवर्षदेखि झेल्दै आएका छन् ।

हिमाली भालुबाट किसानहरुको अन्नबाली जोगाउन घरपझोङ गाउँपालिकाले किसानको खेतबारीमा ग्याविनसहित तारजाली लगाएको थियो । तर भालुले त्यही तालजालीमाथि उक्लिएर खेतबारीमा लगाएको अन्नबाली नोक्सान पारिदिएको घरपझोङकी कार्यपालिका सदस्य मनि विश्वकर्माले जानकारी दिए।

चिमाङ गाउँ कृषि उत्पादनमा निकै सम्भावना भएको गाउँ हो । यहाँका किसान कृषिमा आत्मनिर्भर छन् । तर, यहाँको मुख्य आम्दानीको रूपमा रहेको कृषि व्यवसायलाई भालुको आतङ्कले दुःख दिन थालेपछि किसान समस्यामा परेका हुन् ।

खेतबारीमा लगाएको तारजालीले भालुलाई रोक्न नसकेपछि अन्नपुर्ण संरक्षण आयोजनाको जोमसोम कार्यालयले गत वर्ष भालु धपाउने यन्त्र (साइरन) जडान गरेको कार्यपालिका सदस्य विकले बताए । तर, त्यस प्रकारको यन्त्रले पनि भालुको आतङ्क रोक्न असफल भएको उनले गुनासो गरे ।

कसै गरे पनि हिमाली भालुबाट अन्नबाली जोगाउन नसके पछि अहिले आएर त्यहाँका किसानले छ–सात जनाको समूह बनाएर दैनिक हेरालो बस्न शुरु गरेका थिए । एक्यापले भालु नियन्त्रण गर्न तीन जना कर्मचारीको पारिश्रमिकबापत एक लाख ३० हजार बजेट विनियोजन गरेको थियो । तर भालु नियन्त्रण गर्न तीन कर्मचारीले मात्र नपुगेपछि छ–सात जनाको समूह बनाएर पारिश्रमिक बाँडफाँट गर्यो । चिमाङकी स्थानीय कार्यपालिका सदस्य मनि विश्वकर्माले गाउँमा भालु आयोकि भनी खेतबारीमा गस्ती गर्ने गरेको बताए ।

किसानले कृषि उपजको संरक्षण गर्न एक्याप जोमसोमले परीक्षणका रूपमा विद्युतीय तारजाली निर्माण गरेको कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । सौर्य ऊर्जा प्रणालीबाट विद्युुत् प्रवाह हुनेगरी भालु नियन्त्रण गर्न एक हजार दुईसय ७० मिटर क्षेत्रफलमा विद्युतीय घेराबार निर्माण गरेको कार्यालय प्रमुख गुप्तले बताए । उनले यस कार्यका लागि रु चार लाख बजेट खर्च भएको जानकारी दिए ।

चिमाङ गाउँमा मात्र होइन, भालुले थासाङ गाउँपालिकामा पनि बर्सेनि भालुको आतङ्कले किसानको बालीनाली सखाप पारिदिने गरेको छ । यहाँको कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउराली, सौरु, सिर्खुम र नाउरिकोटलगायत स्थानमा कालो भालुको आतङ्कले किसानलाई निकै सास्ती दिने गरेको छ ।

प्रतिक्रिया