सुनौलो भबिष्य सहकारी ठगी प्रकरण : पिडितहरुलाई उजुरी दिन लमजुङ प्रहरीको अपिल

सुनौलो भबिष्य सहकारी ठगी प्रकरण : पिडितहरुलाई उजुरी दिन लमजुङ प्रहरीको अपिल


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ साउन २०८२
  • 6.4K
    Shares

जिल्ला प्रहरी कार्यालय लमजुङ

पोखरा ,२६ साउन २०८२।

जिल्ला प्रहरी कार्यालय लमजुङले गएको मध्यराती एक प्रेस बिज्ञप्ति निकालेर बेंशीशहरस्थित सुनौलो भबिष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगीमा परेका पिडित शेयर सदस्य र बचतकर्ताहरुलाई प्रहरीमा उजुरी दिन अपिल गरेको छ।

सुनौलो भविष्य सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा आइतबार तात्कालिन अध्यक्ष पदमबहादुर रावतलाई पक्राउ गरेको लमजुङ प्रहरीले सो सहकारीबाट ठगिएका शेयर सदस्य र बचतकर्ताहरुलाई प्रहरीमा उजुरी दिन अपिल गरेको हो ।

उक्त सार्वजनिक प्रेस बिज्ञप्तिमा सहकारी रजिष्ट्रार कार्यालय पोखराले जिल्ला प्रहरी कार्यालय लमजुङलाइ लेखेको पत्रमा उक्त सुनौलो भबिष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा व्यबस्थापक लगायतका जिम्मेवार पदाधिकारीहरुले शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरु लगायतका सम्पत्तिहरु हिनामिना गरेको जानकारी दिंदै अनुसन्धान एवं आवश्यक कारवाही प्रक्रिया अघि बढाउन भनिएको उल्लेख छ।

सहकारी रजिष्ट्रार कार्यालय पोखराले पठाएको पत्र अनुसार अनुसन्धान कारबाही अघि बढाउन उक्त संस्थाले ठगी गरेको भए सम्बन्धीत ब्यक्तिले सो सम्बन्धमा आ-आफ्नो नागरिकतासहित सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौंचर, स्टेटमेन्ट मुद्दती प्रमाण पत्र लगायतको प्रमाणको सक्कल साथमा लिई जिल्ला प्रहरी कार्यालय लमजुङको अपराध अनुसन्धान शाखामा यथाशिघ्र सम्पर्क राख्न आउनु हुन सम्पुर्ण बचतकर्ताहरुमा सुचिंत गरिएको उक्त बिज्ञप्तिमा उल्लेख छ।

सहकारी रजिष्ट्रार कार्यालय पोखराको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङले सहकारी ऐन, २०७४ अन्तर्गत परिभाषित कसूरमा मुद्दा दर्ता गरी अनुसन्धानको क्रममा रहेको पनि जिल्ला प्रहरी कार्यलाय लमजुङले जनाएको छ।

प्रतिक्रिया