पोखरा २४ साउन २०८२।
नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा नमिलेका विषयको अन्तिम फैसला अब आन्दोलनबाट गर्ने चेतावनी दिएको छ।
शुक्रबार विज्ञप्ति प्रकाशित गरी महासंघले आन्दोलनका लागि तयार रहन सबै शिक्षक–कर्मचारीमा अपिल गरेको छ।
आन्दोलनको प्रकृति र कार्य तालिकाबारे आन्दोलन परिचालन समितिको प्रस्तावमा छलफल गरी निर्णय लिन आगामी भदौ ३ र ४ गते काठमाडौंमा महासङ्घ राष्ट्रिय समितिको प्रत्यक्ष बैठक राखिएको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जनाएका छन्।
यस्तै, महासंघले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया चलिरहेको बेलामा कतिपय स्थानीय तहबाट आग्रह राखी जबर्जस्ती शिक्षक सरुवा गर्ने, अस्थायी प्रकृतिका शिक्षकलाई म्याद थप तथा करार सम्झौताका नाममा आतङ्कित गर्ने कामहरु भइरहेका भन्दै आपत्ति जनाएको छ।
‘यस्ता अन्यायपूर्ण काम अविलम्व रोक्न हामी सबै स्थानीय तहसँग जोडदार माग गर्दछौं। त्यस्ता अन्याय विरुद्ध कडाइका साथ उभिन हामी सबै साथीहरुमा अपील गर्दछौं’ अध्यक्ष सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा विज्ञप्तिमा भनिएको छ, ‘समग्र परिस्थिति मूल्याङ्कन गर्दा नेपाली शिक्षक कर्मचारीले फेरि एकपटक आन्दोलनमा होमिनु पर्ने भएको छ।’
