पोखरा १२ साउन २०८२।
लोपोन्मुख जातिका रुपमा संविधानमै सूचीकृत हायु जातिका एकाघरका १६ जना अचानक बेपत्ता भएका छन्।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पाको भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बस्दै आएको उर्मिला हायुसहित उनको १६ जनाको परिवार केही दिन यतादेखि अचानक बेपत्ता भएका छन्।
गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल उनीहरु शुक्रबार–शनिबार नै हराएको हुनसक्ने अनुमान गर्छन। गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालका अनुसार , लोपोन्मुक हायु परिवारको घर जंगलको बिचमा एकान्तमा रहेको थियो । नजिक कुनै छिमेकी नै थिएनन् । उनीहरुको घर पुग्न वा उनीहरुको घरबाट छिमेकीको घर पुग्न १०–१५ मिनेटको दुरि पार गर्नुपर्ने हुन्छ। उक्त घरको भान्छा रहेको सानो छाप्रोमा आगलागी भएको र अन्य स्थानको अवस्था सामान्य रहेको छ । साथै अरुसँग ल्याएर पालेको अधियाँ गाइबस्तु र कुखुराहरु त्यतिकै रहेको उनले बताए ।
‘खाना पकाएर खाने ठाउँ बनाइएको छाप्रोमा आगलागी भएको देखिएको छ । अन्य अवस्था सामान्य भए पनि अरुको घरबाट अधियाँ पालेको गाइवस्तु र कुखुरा अव्यवस्थित रुपमा देखिन्छ,’ उनले भने ।
केही वर्षअघि उक्त घरका वृद्धको मृत्यु भएको थियो । त्यसपछि उर्मिलाले नै सबै परिवारको रेखदेख गर्दै आइरहेकी थिइन् । लोपोन्मुख जाती भएका कारण उक्त परिवारमा उर्मिलाका छोराबुहारी, छोरी नातिना, ज्वाइँ लगायत सबै एकै घरमा बस्दै आइरहेका थिए ।
लोपोन्मुक जाती भएका कारण सरकारले भत्ता समेत दिँदै आइरहेको छ । उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।