शिकार खेल्ने क्रममा झुक्किएर भरुवा बन्दूकको छर्राले लागेर कास्की जिल्ला मादी गांउपालीका वडा नं.८ मिजुरेडांडा निवासी लाल प्रसाद पोख्रेल गम्भीर घाइते भएका छन् । उनको पोखराको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको छ । उनको पेटको दाहिने भागमा बन्दूकको छर्राले लागेको छ ।
मिजुरेडांडा भांग्रेकोपाखास्थित जंगलमा शिकार खेल्ने क्रममा गएको सोमबार राती ठूलो भाई भन्ने व्यक्तिले हानेको भरुवा बन्दूकको गोलीको छर्रा लागेर पोखरेल घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार, सो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका अभियुक्तहरुमा मादी गांउपालिका वडा नं.८ मिजुरेडांडाका ६९ वषिर्य देवबहादुर गुरुङ, २८ वषिर्य राम बहादुर परियार र १९ वषिर्य सन्तोष परियार रहेका छन् । उनीहरुको साथवाट प्रहरीले १ नाल भरुवा बन्दुक समेत बरामद गरेको छ । त्यस घटनाका सम्बन्धमा अन्य आवश्यक अनुसन्धान कारवाही चलिरहेको प्रहरीको भनाई छ ।