पोखरा १९ असार २०८२।
जिल्ला अदालत मकवानपुरले छोरी वलात्कार गर्ने एक व्यक्तिलाई ४५ वर्ष कैद सजायं हुने फैसला सुनाएको छ भने सात लाख रुपियाँ जरिवाना तोकेको छ।
जिल्ला न्यायाधीश गीता श्रेष्ठको बुधबारको इजलाशले थाहा नगरपालिका—१ का ३४ वर्षीय एक व्यक्तिले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । बलात्कृत बालिका जेठी पत्निको छोरी हुन् ।
उक्त इजलाशले हाडानाता पर्नेलाई बलात्कार गरेको अभियोगमा २५ वर्ष र बालिकालाई जबरजस्ती करणी गरेकोतर्फ २० वर्ष कैद गरी ४५ वर्ष कैद गर्ने फैसला गरेको जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए।
२०८१ भदौ २८ गते बालिकालाई बाबुले घरमै बलात्कार गरेका थिए । बालिकाले आफू बाबुबाट बलात्कृत भएको फुपू नाता पर्नेलाई जानकारी गराएपछि उनीहरुले इप्रका पालुङमा उजुरी दिएका थिए । उजुरीको आधारमा बाबु पक्राउ पर्नुका साथै अदालतले पुर्पक्षका लागि उनलाई भिमफेदी जेलमा पठाएको थियो ।