पोखरा १६ असार २०८२।
मोरङमा काकाले आफ्नै सात वर्षीया भतिजीलाई वलात्कार गरेर हत्या गरेको खुलेको छ।
मोरङको धनपालथान गाउँपालिका–५ का अनिष सरदारलाई प्रहरीले पक्राउ गरेपछि उनै अनिष सरदारले आफ्नै सात वर्षीया भतिजी आत्तिका सरदारको बलात्कारपछि हत्या गरेको रहस्य खुलेको हो।
पक्राउ परेका अनिष सरदारसंग भतिजी आत्तिका सरदारको बलात्कारपछि हत्या गरेको घटना बारे सोधखोज भैरहेको प्रहरीले जानकारी दिएको छ।
शनिबार बिहान आत्तिकाको शव घर नजिकैको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा भेटिएको थियो। मृत भेटिएकी बालिकाको अनुहार, घाँटी र शरीरका अन्य भागमा चोटपटक देखिएको थियो। शवको अवस्थाले बलात्कारपछि हत्या गरिएको संकेत देखिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार, आत्तिकाका बाबु भारतको मनिहारीतर्फ गएका थिए भने आमा माइतीघर गएकी थिइन्। सन्तानलाई हजुरआमाको जिम्मा लगाएर बाहिर गएका बेला आत्तिका आफ्ना साना भाइसँग काका अनिषको कोठामा सुतेकी थिइन्। त्यही रात मदिरा सेवन गरेका अनिषले भतिजीलाई कोठाबाट बाहिर लगेर बलात्कार गरी हत्या गरेकाे प्रारम्भिक अनुसन्धानले देखाएको छ। त्यसपछि शव विद्यालय नजिकै फालेर उनी घर फर्किएका थिए।
अनिषले शुरुमा घटना स्वीकार नगरे पनि अनुसन्धानमा उनी मानसिक रूपमा अस्थिर देखिएको प्रहरी स्रोतको भनाइ छ। “कहिले म गरें भन्छन्, कहिले होइन भन्छन्। मानसिक रूपमा विचलित देखिन्छन्,” एक अनुसन्धान अधिकृतले बताएका छन्।
शव विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ। घटनामा संलग्नताको पक्का आधार तयार गर्न मेडिकल र फरेन्सिक रिपोर्टको प्रतिक्षामा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, अनिष सरदारविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यान मुद्दा दर्ता गर्न म्याद थप गरिएको छ। उनीविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।