पोखरा ९ असार २०८२।
पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि ८ अर्व ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । पोखरा महानगरपालिकाको आइतबार भएको १७ औं नगरसभामा पोखराका उपप्रमुख मन्जुदेवी गुरुङले उक्त बजेट सार्वजनिक गरेकी हुन् ।
पोखरा महानगर आर्थिक बर्ष २०८२/०८३ को बजेट पूर्ण पाठ
उक्त बजेटको खर्चमा नगर कार्यपालिकाको कार्यालयतर्फ ९५ करोड, सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासतर्फ १८ करोड, वडा कार्यालयतर्फ एक अर्ब, पूर्वाधारतर्फ दुई अर्ब ३३, शहरी विकास पर्यटन वन तथा वातावरणतर्फ ३८ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।
चालु आर्थिक बर्षमा सात अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट विनियोजन भए पनि जेठ मसान्तसम्म ५५.४३ प्रतिशत खर्च भएको उपमेयर गुरुङले बताइन् ।
पर्यटकीय राजधानी पोखराको पर्यटकीय पूर्वाधार विकास, हरित, उत्थानशील र दिगो पूर्वाधार विकास, वातावरण संरक्षण, समतामूलक विकास, व्यवसायीक कृषि प्रणाली प्रबर्द्धनलाई प्राथमिकतामा राख्दै बजेट ल्याइएको उपमेयर गुरुङले बताइन् ।
बजेटको खर्च संघीय सरकारको अनुदानबाट तीन अर्ब एक करोड ८१ लाख र आन्तरिक आयबाट पाँच अर्ब २३ करोड ३१ लाख रुपैयाँ बेहोर्नेछ ।
यस्तै, आन्तरिक राजश्व परिचालनतर्फ तीन अर्ब २३ करोड ७२ लाख २७ हजार, स्थानीय राजश्व बाँडफाँडबाट एक अर्ब १९ लाख १४ हजार, प्रदेश राजश्व बाँडफाँडबाट चार करोड २८ लाख ७२ हजार, संघीय राजश्व बाँडफाँडबाट ३३ करोड आठ लाख ४० हजार, संघीय अनुदानबाट ५२ करोड ८७ लाख र प्रदेश अनुदानबाट आठ करोड १५ लाख ४६ हजार ब्यहोरिनेछ ।
महानगरले स्वास्थ्य क्षेत्रमा ३१ करोड दुई लाख, शिक्षातर्फ एक अर्ब ७३ करोड ३३ लाख ९१ हजार, भौतिक पूर्वाधारतर्फ २ अर्ब ३३ करोड, सहरी विकास पर्यटन, वन तथा वातावराणतर्फ ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । न्यायिक समितिका काम व्यवस्थित गर्न, ऐन बनाउन, सचेतना अभिवृद्धि गर्न एक करोड ४४ लाख रुपैयाँ छुट्याइएको छ ।
पोखरासँगै रुपा गाउँपालिकाले पनि आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ । रुपाले ४८ करोड ५ लाख ३७ हजार बजेट ल्याएको छ । रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्वा गुरुङले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गदैँ पुजिगततर्फ १५ करोड २० लाख ५७ हजार र चालुतर्फ ३३ करोड ३४ लाख ४८ हजार खर्चको अनुमन पालिका सभामा पेस गरिन् ।
आगामी आर्थिक वर्षका लागि पेस भएको खर्चमा नेपाल सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ७ कारोड ६५ लाख राजश्व बाडफाडबाट प्राप्त हुने ७ करोड ३२ लाख ससर्त अनुदान १८ करोड ७२ लाख समपुरक अनुदान ५ करोड ७७ लाख र विशेष अनुदान १ करोड ६५ लाख रहेको छ । कास्कीकै मादी गाउँपालिकाले भोलि तथा माछापुच्छे« र अन्नपूर्ण गाउँपालिकाले पर्सि बजेट ल्याउने तयारी गरेका छन् ।
बजेट प्रस्तुत हुनु अघि आइतबार नै पोखराका मेयर धनराज आचार्यले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका बिषयमा प्रथामिकता दिइएको थियो ।