पोखरा,४ असार २०८२।
स्याङ्जामा वडाध्यक्षले दिनभर आँधिखोला बचाउ अभियान संचालन गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना नेताहरुमाथि आक्रमण गरेर घाइते बनाएका छन्।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १० का वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताद्वय मेघ आले र दिनकर नेपालमाथि आक्रमण गरेर घाइते बनाएका हुन्।
आँधीखोला नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किदैं गर्दा वालिङ–९, सुर्कौदीमा मंगलबार साँझ ६ बजेतिर उनीहरुमाथि आक्रमण भएको हो।
वडाध्यक्ष खनालले रडले प्रहार गरेको घाइते नेपालले बताएका छन्। वडाध्यक्ष खनालको आक्रमणमा परी नेपालले लगाएको हेलमेट फुटेको छ भने दाहिने हातमा फ्याक्चर भएको छ। यस्तै आले पनि घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि पोखरा ल्याइएको छ।
वडाध्यक्ष खनालले उनीहरुमाथि आंधीखोला नदी दोहनका विरुद्धमा कार्यक्रमहरुको घोषणा गरेपछि सार्वजनिक स्थानमा नैं बारम्बार ज्यान मार्ने धम्की दिदैं आईरहेका नेपालको दाबी छ ।
आँधीखोलामा स्थानीय प्रशासन र जनप्रतिनिधिकैं मिलोमतोमा गैरकानुनी ढंगले नदी दोहन हुँदैं आईरहेको छ ।‘आँधीखोला दोहनविरूद्ध बोल्दै गर्दा वडाध्यक्षले हामीलाई धम्की दिएर निस्केका थिए, पछि बाटो छेकेर हामीलाई रड हाने,’ घाइते अभियन्ता नेपालले भने, ‘मैले रड हातले छेक्दा हातमा गम्भिर चोट लागेको छ, हेल्मेट समेत फुटेको छ ।’
आँधीखोला नदीमा गैरकानुनी रूपमा डोजर प्रयोग गरी उत्खनन् गरेको भन्दै उनीहरूले मंगलबार विरोध कार्यक्रम राखेका थिए । कार्यक्रममा नदी संरक्षण अभियन्ता आलेले अहिलेको कानुन अनुसार नदीमा डोजर प्रयोग गर्न नहुने र ढुंगा, गिटी, बालुवा जस्ता नदीजन्य पदार्थ निकाल्नुअघि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।