पोखरा, २५ जेठ २०८२।
कैलालीको एक प्रहरी चौकीका इन्चार्जले महिलालाई हातपात गरिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।
कैलालीको टीकापुर नगरपालिका–७ हुलाकी राजमार्गस्थित खैरीपुर चेक पोष्टका इन्चार्ज यज्ञराज पन्तले टीकापुर १ की २९ वर्षीया राजकुमारी कुँवर शाहलाइ हातपात गरेको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल भैरहेको हो।
प्रहरीले ती महिलालाई किन हातपात गरेको हो अहिलेसम्म खुल्न सकेको छैन। तर पिडित भनिएकी महिला राजकुमारी कुँवर शाहले आफूमाथि हातपात गर्ने प्रहरी चेक पोस्टका इन्चार्ज यज्ञराज पन्तलाई कारबाहीको माग राखेर जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी छिन।
पोस्ट इन्चार्ज सई पन्तबिरुद्ध उजुरी परेपछि भने जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। शुक्रवार भएको भनिएको उक्त घटनाको छानबिनका लागि प्रहरीले छानबिन समिति गठन गरेको हो।
उनीहरूको बिचमा भएको विवादको विषयमा प्रहरीले छानबिन गर्ने बताएको छ।
प्राप्त समाचार अनुसार , पिडित भनिएकी महिला राजकुमारी कुँवर शाहले आफ्नो बच्चालाई स्कुटर चलाउन दिएकोमा प्रहरी हवल्दारले भेट्टाए पछि रोक्न खोज्दा बिबाद भएको थियो। त्यति बेला स्कुटर रोक्न खोज्ने प्रहरी हवल्दारलाई गालि गलौज गरेकी शाहीले पोस्ट इन्चार्ज पन्त समेतलाई अपशब्द प्रयोग गरेको बताइएको छ। सोही क्रममा प्रहरी पोस्ट इन्चार्ज पन्तले शाहीलाई जबरजस्ती नियन्त्रणमा लिन खोजेको दाबी प्रहरी पक्षले गरेको छ।
उक्त भिडियो सार्वजनिक भए पछि भने प्रहरीको ब्यापक बिरोध भैरहेको छ। महिलाले अपशब्द प्रयोग गरेकै भएपनि पुरुष प्रहरीले महिलालाई हातपात गर्न नमिल्ने भन्दै प्रहरीको ब्यापक बिरोध भैरहेको छ।