विप्लवको नजरमा आफ्नो एक वर्षे कार्यकाल

विप्लवको नजरमा आफ्नो एक वर्षे कार्यकाल


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ माघ २०७२
  • 12.8K
    Shares

नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा–माओवादीवाट अलग भएर पार्टी गठन गरेको एक वर्ष पार गरेको छ । विप्लवले एक वर्ष पहिला प्रचण्डले धोका दिएको र वैद्यले हिम्मत नगरेको भन्दै क्रान्तिका बाँकी काम पुरा गर्ने भनेर नेकपा माओवादी गठन गरेका थिए । उनले ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा अगाडि सारेका छन् । यही कार्यदिशामा मध्यम वर्गलाई गोलबन्द गर्दै क्रान्ति पुरा गर्ने महत्त्वकाङ्क्षी योजना बनाएका छन् ।

विप्लवले आफ्नो एक वर्षे कार्यकालको सटिक रूपमा सश्लेषण गरेका छन् । उनले राजनीतिक, आर्थिक र साङ्गठनिक क्षेत्रको सश्लेषण गरेका हुन् ।

राजनीतिः विप्लव नेपालको राजनीति आफ्नो विश्लेषण र सश्लेषण गरे अनुसार नै अगाडि बढेको दाबी गर्छन् । उनी शान्ति प्रक्रियापछि प्रचण्डसँग गर्दै आएको विचारको सङ्घर्ष पुष्टि भएको बताउँछन् । “हामीले शान्ति प्रक्रियापछि एमाओवादी नेतृत्वले लिएको लाइनले नेपालमा संसदीय व्यवास्था पुनस्र्थापना हुन्छ, औचित्य समाप्त भइ सकेको संसदीय व्यवस्थाको पुनस्र्थापना नगरौँ भन्दै प्रचण्डजीसँग सङ्घर्ष गरेका थियौँ । उहाँले त्यो हुँदैन भन्नु हुन्थ्यो तर संसदीय व्यवस्थाको पुनस्र्थापना भइ छोड्यो” विप्लवले भने ।

नेपाली काङ्ग्रेस र एमालेले शान्ति सम्झौतामा गरेको प्रतिबद्धताबाट पछि हटेर राज्य संयन्त्रलाई माओवादीविरुद्ध प्रयोग गर्न थालेकाले जनमुक्ति सेना विघटन गर्नु आत्मघाती हुन्छ भन्दै आएको कुरा पनि पुष्टि भएको विप्लवले बताए । उनले आफूले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशाबारे मध्यम वर्गबिच बहस भएको बताए । ‘जनवादी क्रान्तिको बहसमा नेपालमा पहिलो पटक मध्यम वर्ग सहभागी भएको छ । हामीले अगाडि सारेको एकीकृत जनक्रान्तिबारे अन्तर्राष्ट्रिय स्तरबाट चासो राख्न थालिएको छ, त्यही विषयमा बहस गर्न भनेर केही विदेशी मित्रहरू नेपाल आउने गरेका छन् ।

विप्लवले आफूले अगाडि सारेको क्रान्तिको सिद्धान्तमा श्रमजीवीदेखि मध्यम वर्ग सहभागी हुने वातावरण बन्दै गएको बताए ।
अन्तर्राष्ट्रिय माओवादीलाई सङ्गठित गर्ने विषयमा विभिन्न देशका माओवादी पार्टीका नेताहरूसँग पनि छलफल भइ रहेको विप्लवले बताए ।

सङ्गठनः विप्लवले आफ्नो सङ्गठन बलियो बन्दै गएको दाबी गरेका छन् । उनले माओवादी पार्टीहरूमा आफ्नो पार्टी अरू भन्दा सङ्गठनको क्षेत्रमा धेरै गुणा बढी चलायमान् भएको बताए । ‘केही गर्नु पर्छ भन्ने युवाहरूको सङ्ख्या हामीसँग बढ्दैछ, प्रचण्ड र किरण दाइसँग रहेका इमानदार र क्रान्तिकारी साथीहरूले आफ्नो नेतृत्वभन्दा बढी हामीसँग आश गरेका छन्’ विप्लवले भने ।

उनी अगाडि भन्छन्, ‘प्रचण्ड र किरण दाइसँग छुटिएर अलग पार्टी निर्माण गर्ने काम निकै गारो थियो तर अहिले नेपालका सबै पार्टीभन्दा हाम्रो सङ्गठन गतिशील छ ।

आर्थिकः विप्लवले आफ्नो पार्टीसँग संस्थागत रूपमा ऋण नभएको बताए । “हाम्रो पार्टी ऋणी छैन ।” विप्लवले अगाडि भने, “भूकम्पमा त्यत्रो कार्यकर्ता परिचालन ग¥यौँ, केन्द्रीय स्तरमा ठुला कार्यक्रम पनि गर्यौँ, जनजीविकाका सवाललाई लिएर सङ्घर्ष पनि गरि रहेकै छौँ । नाकाबन्दीको बिचमा पनि देशभर सङ्गठन चलायमान् भइ रहेको छ, आधार क्षेत्रका केही विपन्न सहिद परिवारलाई केही सहयोग पनि गरेका छौँ तर पार्टीमा ऋण छैन ।” पार्टीले सामूहिक उत्पादनलाई पनि जोड्ने योजनालाई अगाडि बढाएको उनले बताए ।

प्रतिक्रिया