पोखरा, १२ जेठ २०८२।
तनहुँमा आपसमा झगडा गर्ने पांच जना छात्राहरुलाई उल्टै शिक्षकले कुटेर घाइते बनाएका छन्। जिल्लाको भानु नगरपालिका–२ स्थित नारेश्वरटारको सहिद होमराज लोहनी शारदा सदन माध्यमिक विद्यालयमा अध्ययरत पाँचजना छात्राहरुलाई सोहि बिद्यालयका सहायक प्रधानाध्यापक निराजन भट्टले कुटेर घाइते बनाएका हुन्।
सहायक प्रधानाध्यापक भट्टको कुटाईबाट अस्मृति बिकसहित सिता बिक, सरस्वती सुनार, रविना सुनार र अस्मिता तामाङ घाइते भएका प्राप्त समाचारमा जनाइएको छ।
अस्मृतिको देब्रे हात मर्किनुका साथै औंला भाँचिएको र पिठिउँमा निलडाम देखिएको उनका अभिभावकले जानकारी दिएका छन्। घटनापछि छोरीले खाना खान छोडेर ओछ्यानमा चुपचाप सुतेको देखेर शंका उत्पन्न भएको र साथीसँग सोधपुछ गर्दा कुटपिटको घटना खुलेको आमा राममाया सुनारले बताइन्।
“शिक्षकको डरले केही नभनेकी थिइन्, तर साथीमार्फत थाहा पायौँ,” उनले भनिन्, “अब उपचारका साथै दोषी शिक्षकमाथि कारबाही हुनु आवश्यक छ।”
घाइते विद्यार्थी अस्मृतिले पनि शिक्षकले झगडाको कारण देखाउँदै लौरीले बेस्सरी कुटेको बताइन्। “साथीसँग सामान्य भनाभन भएको थियो, सरले केही नसोधीकन कुट्न थाल्नुभयो,” उनले भनिन्।
सहायक प्रधानाध्यापक भट्टले आफूले उनीहरु एकापसमा झगडा गरेकाले अनुशासन सिकाउन सामान्य सजाय मात्र दिएको दाबी गरे