पोखरा, ४ जेठ २०८२।
गोरु काटेर खान भाग लगाउदै गर्दा बागलुङबाट एकै गाउँका सात जना दलित पक्राउ परेका छन्।
गएको जेठ १ गते बागलुङको बरेङ गाउँपालिका वडा नं. २ खिरकटेरीस्थित सिता सार्कीको गोठ नजिक गोरु काटेर भाग लगाउदै गरेको अवस्थामा सोही गाउँका सात जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा ५५ वर्षीय मित्रलाल सार्की, सोही ठाउँका ४२ वर्षीय मन बहादुर सार्की, ५३ वर्षीय जुना सार्की, ४६ वर्षीय कुमारी सार्की, ४१ वर्षीया सिता सार्की र १७ वर्षीय किशोर युवा तथा बरेङ गाउँपालिका वडा नं. ५ तितेपाखा बस्ने वर्ष २८ को सन्तोष सामत रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी डिएसपी बसन्त पाण्डेले जानकारी दिएका छन्। उनीहरुको साथबाट गोरू काट्न प्रयोग गरिएका बञ्चरो, हँसिया र चक्कु समेत बरामद भएको प्रहरीले बताएको छ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय, बरेङ्डाडा र प्रहरी चौकी सुडाला, बागलुङबाट खटिईएको प्रहरी टोलिले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।
पक्राउ परेका सातै जनाविरुद्ध बागलुङ जिल्ला अदालत, बागलुङबाट पशुपंक्षी सम्बन्धी कसूर (गाई, गोरु मार्न वा कुट्न नहुने) मा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।