सिरहा, २६ बैशाख २०८२।

शिक्षकको कुटाइबाट घाइते भएका १३ वर्षीय एक स्कुले बालक सिराहामा अस्पताल भर्ना भएका छन्।
जिल्लाको गोलबजार नगरपालिका वडा नं. ७ चाहेर्वास्थित एपेक्स विद्या मन्दिरको कक्षा ८ अध्ययनरत १३ वर्षिय छात्र अविनास यादव शिक्षकको कुटाईबाट मुर्छित भए पछि उपचारका लागि अस्पताल भएका हुन्।
गृहकार्य नगरेको र भने अनुसार नगरी अटेरी गरेको भन्दै शिक्षक सन्तोष गुप्ताले अविनासलाई कोठा थुनेर बाँसको लठ्ठीले बेहोश हुने गरी कुटेको पिडित बालकले बताएका छन्।
छोरा शिक्षकको कुटाईबाट मुर्छित भएको थाहा पाएका उनका बुबा सुरेश कुमार यादवले उद्धार गरेर उपचारका लागि नजिकको निजि अस्पतालमा लगेको प्राप्त समाचारमा जनाइएको छ।
गाला, पिठ्यु र तिघ्रामा गहिरो घाउ चोट र दर्जनौ नील डाम देखिएका घाइते अविनासको अवस्था खतरामुक्त रहेको अस्पताल सुत्रले जानकारी दिएको छ।
घाइते अबिनाश्का बुबा सुरेश कुमार यादबले दोषीमाथि सख्त कारबाही हुनुपर्ने माग गरेका छन्। यादवले आँशु झार्दै अघि भने , “झण्डै मेरो बच्चा मारेनन् । सख्त कारवाही हुनुपर्छ – हामीले न्याय पाउनु पर्छ। ”
विद्यार्थीलाई निर्घात कुट्ने शिक्षक सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीले कानून बमोजिम कारवाही हुने बताएको छ ।