पोखरा,१५ चैत २०८१।
दाङमा महिलालाई बिजुलीको पोलमा बाँधेर कुटपिट गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
मानव अधिकाराबादीहरुको पहलमा पिडित महिला दाङको घोराही उपमहानगरपालिका–१० जलौराकी २६ वर्षीया शिला चौधरीले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिए पछि उनलाई बिजुलीको पोलमा बाँधेर कुटपिट गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले पक्राउ गरेका अभियुक्तहरुको नाम भने अहिलेसम्म सार्वजनिक गरेको छैन।
गएको नौ गते शिलामाथि घोराही–११ चागुका गोपाल चौधरीकी श्रीमती र स्थानीय केही अन्य महिलाले बाँधेर निर्घात कुटपिट गरेको भिडिओ सार्वजनिक भएको छ। शिलाका श्रीमान जेलमा छन्। जीवनयापनका लागि उनी सोही वडाको तरकारी फार्ममा काम गर्दै आएकी थिइन्। तरकारी फार्मका केही सामान हराएको आरोपमा शिलामाथि अमानवीय तरिकाले कुटपिट भएको महिला अधिकारकर्मी खुमा खड्काले बताइन्।
पीडित महिला शिला चौधरी अहिले माइती घरमा छन् । शिलाले घाँटी, टाउको र शरीरको भित्री भागमा दुखाइ भइरहेको बताएकी छन्।
त्यसैगरि शिला चाघु स्थित एउटा तरकारी फर्ममा काम गर्थिन । त्यही क्रममा स्थानीय गोपालसँग चिनजान थियो । त्यही क्रममा ९ चैत शनिवार साँझ ९ बजेतिर गणेशकै घरमा शिला गइन । स्रोतका अनुसार“गणेश र शिलाबिच कुरा भएरै शिला घर गएकी थिइन ।”
त्यसपछि घरका अन्य मान्छेले शिला घर भित्र गएको थाहा पाएपछि कुटपिट गर्न थाले । गणेशकी श्रीमतीसहित अरू आफन्तले पनि कुटपिट गरे । लामो समय कुटपिट गर्दा उनी अचेत अवस्थामा थिइन् ।
शिलामाथि कुटपिट भएको भिडिओ कुट्नेहरू आफैले सामाजिक सञ्जालमा राखेका थिए। त्यसको तीव्र विरोध र आलोचना हुन थालेपछि उनलाई स्थानीय मेडिकलमा लगेर उनीहरू आफैले उपचार गरेको प्राप्त समाचारमा जनाइएको छ।
भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि पीडितकी आमाले छोरीमाथि भएको अत्याचारबारे आवाज उठाइन्। उनकै पहलमा घटना मिलाउन दिइएको ६१ हजार रूपैयाँ फिर्ता गरिएको बताइएको छ । पीडितले पैसा फिर्ता गरी प्रहरीमा न्यायका लागि जाहेरी दिएको स्रोतले बतायो।
बिहीबार मात्रै पीडित जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर आरोपितहरू विरूद्ध अमानवीय व्यवहार शीर्षकमा मुद्दा दायर गरेको निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले बताए।
स्रोतका अनुसार राजनीतिक दलका स्थानीय नेताहरूले ७० हजार रूपैयाँ दिएर मुद्दा गाउँमै मिलाएका थिए। त्यसमध्ये पनि उनीहरूले गाडी भाडा लागेको भन्दै नौ हजार रूपैयाँ लगेका थिए। पीडितले ६१ हजार रूपैयाँ पाएकी थिइन्। इलाका प्रहरी कार्यालय नारायणपुरमा यो विवाद आउनुअघि स्थानीय ‘भद्रभलादमी’ को रोहवरमा पैसा दिएर मिलाउन खोजिएको स्रोतले बताएको छ।
पीडितले निवेदन दिएपछि आफूले त्यसैको आधारमा आरोपितलाई पक्राउ गरेको हुँदा मुद्दा आधिकारिक रूपमा दर्ता भइसकेको डिएसपी शाहले बताए। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको पनि उनले बताए।