पोखरा, ५ फागुन २०८१।
खोटाङको हलेसी बजारमा गएराती लागेको आगो पानी ट्यांकरले साढे दुई घण्टा लगाएर निभाएको छ।
आइतबार साँझ ७ बजेतिर स्थानीय पदम राईको पसलबाट शुरु भएको आगो दमकलको अभावमा पानी ट्यांकरले साढे दुई घण्टापछि नियन्त्रणमा लिएको हो।
आगलागीबाट तीनवटा घर पूर्णरूपमा जलेका छन्। पदम राईको हार्डवेयर पसल तथा खाना पकाउने ग्यासको स्टोरबाट सुरु भएको आगोबाट सोही घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय पनि पूर्णरूपमा जलेको छ।
होटल हलेली दर्शन रहेको प्रकाशचन्द्र गिरी र ओइराख राईको कल्याण होटलमा पनि आगलागी भएको छ।
जिल्लामा एउटा पनि दमकल नहुँदा आगो निभाउन स्थानीयले घरघरबाट रिजर्भ ट्यांकीबाट पानी लगेका थिए। हलेसी तुवाचुङ नगरपालिकासँग एउटा पनि दमकल छैन। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग भएको दमकल पनि लामोसमयदेखि बिग्रिएर थन्किएको छ।
दूधकोसीतिरबाट पानी बोकेर ट्यांकर पुगेपछि सोही पानीको सहयोगमा आगो नियन्त्रणमा आएको हो। उक्त ट्यांकरकै भरमा थप घरमा भने आगो फैलिन पाएन।
जिल्ला सदरमुकाम दिक्तेलबाट सुरक्षाकर्मीसहितको टोली पुग्दा तीन घर जलिसकेका थिए। अहिले भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको छ।