काठमाडौंको बौद्ध रामहिटीस्थित निरभान क्याफेमा शुक्रबार बेलुकी भएको पेम्बा शेर्पाको हत्याको कारक दुई युवतीबीचको सामान्य झगडा भएको खुलेको छ । बियर पोखिएको निहुँमा सुरु भएको झगडाले उग्ररुप लिँदा हत्याको घटनासम्म भएको थियो ।
महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी विपीन रेग्मीका अनुसार सो रेस्टुरेन्टमा एउटा समूह बर्थ डे पार्टीमा सहभागी भएको थियो भने अर्काे पक्ष पारिवारिक भेटघाटमा । सोही क्रममा पुजन तामाङ र इनु शेर्पाबीच सामान्य भनाभन भएको थियो । इनु मृतककी छोरी हुन् ।
सोही सामान्य झगडामा पुजनतर्फका सत्यजीत लामा गएर कुटपिट गर्न खोजेपछि दुई पक्षबीच झगडाले उग्ररुप लिएको थियो । झगडाका क्रममा पुजनतर्फका व्यक्तिहरूको कुटपिटबाट शेर्पाको ज्यान गएको हो ।
प्रहरीले क्याफेका सञ्चालक तेन्जिङ ग्याल्छो लामासहित, अनित लामा, सत्यजित रुम्बा, गुम्बे शेर्पा, नन्दु स्याङब्योलगायतलाई पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तहरू बर्थ डे मनाउन सो रेस्टुरेन्टमा गएका थिए । त्यस्तै, मृतक शेर्पाका परिवार पारिवारिक जमघटको क्रममा त्यहाँ पुगेका थिए ।