श्रीपशुपतिनाथमा कुनै पनि भारतीय भट्ट नआएपछि म एक्लैले सबै भट्टले गर्ने पूजा गर्नुपर्यो। वि. सं. २०६५ पुस १७ गतेदेखि २३ गतेसम्म मैले नै श्रीपशुपतिनाथको पूजाविधि सम्पन्न गराएँ। त्यस क्रममा मलाई अप्ठ्यारो त भयो नै तर कुनै पनि विधि छुटेन । मन्दिरमा श्रृंगार उतार्ने काम हुन्छ। त्यसका लागि तीनजना पुजारीको खाँचो पर्छ। म एक्लैले गर्नुपर्दा केही विघ्नबाधा अवश्य आए। म खासमा माओवादी भएर त्यहाँ गएको थिइनँ। आवश्यकता र योग्यताले त्यहाँ पुगेको थिएँ। अनि विश्वका सनातन धर्मावलम्बीको आस्थाको केन्द्रमा भारतीय र नेपाली भन्ने विभेद खडा गर्नु पनि मेरो उद्देश्य थिएन। अर्को कुरा अन्य भट्टलाई हटाएर मलाई लगिएको पनि होइन। पुस २३ गते साँझ ७ बजे आरती सकेर बाहिर निस्कँदा कोषका पदाधिकारीले मलाई ताजा घटना सुनाए। सम्माननीय प्रधानमन्त्री प्रचण्डको सम्बोधन आएको रहेछ। प्रचण्डले मूल भट्टको राजीनामा स्वीकृत, मेरो नियुक्ति बदर र अर्को व्यवस्था नभएसम्म तिनै भट्टलाई पूजागर्ने जिम्मेवारी सुम्पिनुभएको रहेछ।
मलाई स्वप्नमा समेत आक्रमणको प्रयास भइरहेको छ भन्ने संकेत आएको थियो। प्रत्यक्ष भौतिक आक्रमणको सम्भावना त थिएन तर अभिचार क्रियाहरुको माध्ययमबाट पनि मानिसलाई कसरी विचलित पार्न सकिन्छ ? कसरी मानसिक रुपमा कमजोर बनाउन सकिन्छ ? भन्ने काम भयो। नेपाली भट्ट मानसिक वा शारीरिक रुपमा छिन्न भिन्न भयो र श्रीपशुपतिनाथमा पूजा गर्न सकेन भन्ने सन्देश दिन सकियो भने यो विषय अझ हजार वर्ष पर धकेलिन्छ भनेर उनीहरुले सबै विधि अपनाए। म बौलाएं, भागें या मरें भने पहिला कुनै वर्ष श्रीपशुपतिनाथमा नेपाली भट्ट पुजारी राखेको तर नसकेर भाग्यो रे त्यहाँ नेपाली जानु हुदैन भन्ने किंवदन्तीका कुरा स्थापित हुने भएकाले मैले प्रतिकार गर्न सक्दो विधि अपनाएं।
मैले आफूलाई के महसुस गर्छु भने “म मसानघाटको खरानीबाट जिउँदो भएर आएको मान्छे” किन भने म हर प्रकारले मर्ने, बहुलाउने र भाग्ने कुराको विरुद्धमा सशक्त संघर्ष गरेर स्थापित भएको मान्छे। धेरै नेपालीहरु प्रधानमन्त्री भए हाम्रो देशमा तर श्रीपशुपतिनाथको भट्ट हुने अवसर कुनै नेपालीलाई जुरेन। म श्रीपशुपथिनाथको एक्लो पूजारी हुँ । ऐतिहासिक कालखण्डमा राज्यमा स्वाभिमान बढेका बेला मैले त्यो जिम्वेवारी पाएको थिएं । मलाई राज्यले जिम्वेवारी दिएको थियो । के गर्न पाएँ, के गर्न पाइएन अथवा केही गर्ने अवसर जुरेन भनेर मलाई हीनतावोध छैन । जति मैले गर्न सकें गरें । ठीक गरें ।
सांस्कृतिक रुपमा भारतलाई मैले राम्ररी चिनेको छु । मारिसस, गुयाना र ट्रिनीडाडको घटनालाई मैले अध्ययन गरेको थिएँ। भारतको विषेशता के भने आफ्नो मूढतालाई उसले त्याग्दैन। श्रीपशुपतिनाथको विषयमा भारतको बुझाई गलत रह्यो। मिडियाले पनि गलत संदेश फैलायो । जिम्मेवारी पूर्वक मिडियाले जनतालाई ठीक ढंगले सुसुचित गर्ने काम गरेन । पुजारी नियुक्तिको विरोध गर्नेहरुले कहिल्यै मेरो योग्यता र पूजाविधि बारे प्रश्न उठाउन सकेनन् र नेपाली नागरिक हुनुबाहेक मेरो अर्को अयोग्यता कसैले देखाउन सकेका छैनन्।
माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले श्रीपशुपतिनाथ मन्दिरमा मलाई पुजारी नियुक्त गर्दा भारतमा समेत धक्का महसुस भयो। आफ्नो देशको पवित्र मन्दिरमा विदेशी पुजारी राख्नै पर्ने बाध्यता भयो। तत्कालीन माननीय संस्कृति मन्त्री गोपाल किरातीको मलाई पुजारी बनाउने
निर्णय दुई साता पनि टिकेन र श्रीपशुपतिनाथमा भारतीय नागरिकलाई नै पुनः मूलभट्ट बनाइयो।
तीन सय वर्षमा एक पटक नेपाली नागरिकलाई श्रीपशुपतिनाथको पुजारी बनाइयो तर सरकार कुटनीतिक पहल गर्नमा चुक्यो । श्रीपशुपतिनाथमा लामो समयदेखि भारतीय मूलका पुजारी रहँदै आएकोमा नेपाली पुजारी नियुक्ति सँगै चौतर्फी दवाव आयो र प्रचण्ड नेतृत्वको सरकार पछि हट्न बाध्य भयो ।
यदि मन्दिरको द्वार बन्द भएकै अवस्थामा म फर्केको भए मेरो जीवन निरर्थक हुन्थ्यो । अर्चनाको विधि विज्ञान राम्ररी अंगालेर, संघर्ष गरेर, गुप्तवासको चरण पार गरेर म यहाँ आइपुग्दा पनि द्वार नखुलेको भए ईश्वरले हेरेनन् भन्ने हुन्थ्यो । भगवान्को प्रेरणाले राज्य जाग्यो र मैले पूजा गर्न पाएँ । आफुले जानेसम्म र सम्भव भएसम्म सबै विधि र प्रक्रिया पु¥याएर श्रीपशुतिनाथको पूजा गरें।
पुजारीको रुपमा म श्रीपशुपतिनाथ मन्दिर प्रवेश गरेपछि विरोधको स्वर चर्को हुँदै गयो। भारतले समेत नेपाल सरकारलाई भारतीय पुजारी नहटाउन दबाव दियो। यथार्थमा भारतीयलाई हटाएर नेपालीलाई राखिएको पनि होइन। तर पनि मैले श्रीपशुपतिनाथको पहिलो नेपाली भट्ट बन्ने अवसर पाएं। सरकारले पनि आत्मविश्वासका साथ काम गर्न सकेन। सरकार चुक्यो। ऐतिहासिक परिवर्तनको एजेण्डाले स्थायित्व ग्रहण गर्न सकेन।
“माओवादी कार्यकर्तालाई श्रीपशुपतिनाथ मन्दिर प्रवेश गराइयो, र भारतीय भट्टलाई हटाएर नेपालीलाई राखियो भन्ने भ्रामक सन्देश गयो भने यसले नराम्रो रुप लिन्छ र भारतले सहँदैन” भनेको थिएँ नभन्दै त्यस्तै भयो । नियुक्ति बारे निर्णय गर्नु अघि नै मैले यो विषयमा सजग गराएको थिएँ ।
निश्चयनै योग्यता र क्षमताको मूल्याङ्कन, परीक्षण र विश्लेषण नगरी पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले मलाई श्रीपशुपतिनाथको पुजारी बनाएन । नेपालीलाई आउने झन्झट, लामो सम्वाद, परिचर्चा र अन्तर्वार्ताको सामयिक श्रृंखला पार गरेपछि बल्ल पुजारी नियुक्त गरिएको हो ।
तीन दशक अध्ययन र अनुसन्धान गरेपछि म भट्ट हुनका लागि योग्य ठहरिएँ । तन्त्रशास्त्रको ज्ञान र महाविद्याको पूजा विज्ञानमा लामो अवधि पार गरेपछि श्रीपशुपतिनाथको पुजारी हुने अवसर जुरेको हो । कतिपय मानिसहरुले माओवादी आन्दोलनका स्रष्टा, गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री क. प्रचण्ड (पुष्पकमल दाहाल) को पारिवारिक सदस्यका कारणले मैले यो अवसर पाएको भनेर अपव्याख्या समेत गरे ।
आरोप लगाए। वेदमन्त्र, वैदिक सिद्धान्त, कल्पशास्त्र र तन्त्रशास्त्रका गूढ रहस्यहरुलाई नजानेको हुन सक्ने अनुमान गरे । कतिपयले श्रीपशुपतिनाथको मुलभट्ट मूल पुजारीले पाशुपत क्षेत्रको जात्रा र पर्वहरुको सञ्चालन र निर्देशन गर्नुपर्ने तर त्यो मलाई थाहा नभएको भनेर भ्रम फैलाए । कतिपयले मेरो आचरण, आहार र नियम निष्ठा माथि प्रश्न उठाए । जब कि कुनै पनि काल्पनिक मनगढन्त्ते आरोपहरु तय गर्ने, भ्रमहरु विकास गर्ने, ती विचरा नादानहरुलाई सत्य तथ्य वारे केही थाहा रहेनछ ।