आठ वर्षीय छोरा घाइते छाडेर संसार छाडे, दैलेखको शैल्यशिखर नगरपालिकाका अमिन बीरेन्द्र रावल दम्पत्ति

आठ वर्षीय छोरा घाइते छाडेर संसार छाडे, दैलेखको शैल्यशिखर नगरपालिकाका अमिन बीरेन्द्र रावल दम्पत्ति


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० कार्तिक २०८१
  • 11.9K
    Shares

पोखरा,३० कार्तिक २०८१।

दार्चुलाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका आठ वर्षीय बालक सन्दीप रावल शुक्रबार बिहानै टुहुरा भए।

जिल्लाकै प्रसिद्ध जात्रा मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका तीर्थयात्री बोकेको बोलेरो जिप शुक्रबार बिहान भएको दुर्घटनामा बाबु ३० वर्षीय वीरेन्द्र रावल र २८ वर्षीया आमा शान्तिको निधन भए पछि आठ वर्षीय सन्दिप रावल टुहुरा बनेका हुन्।

सन्दिप आफ्ना बाउआमाको साथ् लागेर मालिकार्जुन गाउँपालिका-३ स्थित मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेर्न बिहीबार बेलुका त्यसतर्फ गएका थिए। जात्रामा पूजाआजा, दमाहा बजाउने, देउडा खेल्ने र भजन गाउने गरिएकाले रमाइलो थियो। त्यसमा वीरेन्द्रको परिवार पनि सामेल भयो र जात्राका रमाइलो पनि अनुभूति गर्यो। तर जात्राको उल्लास धेरै बेर टिक्न पाएन।

घर फर्किने क्रममा वीरेन्द्रको परिवार पनि सवार जिप दुर्घटनामा पर्‍यो। जसमा वीरेन्द्र र उनकी श्रीमतीको मृत्यु भयो। उनीहरूका ८ वर्षीय छोरा सन्दीप घाइते भएका छन्। टाउकोमा चोट लागेका उनको गोकुलेश्वर अस्पालमा उपचार भइरहेको छ। दुर्घटनामा वीरेन्द्रका छिमेकी प्रकाश रावल पनि घाइते भएका छन्।

वीरेन्द्र शैल्यशिखर नगरपालिकाका कर्मचारी थिए। उनी ६ वर्षदेखि करारमा अमिन पदमा कार्यरत थिए। शैल्यशिखर नगरपालिका-५ का अध्यक्ष जनकबहादुर डाँगाका अनुसार वीरेन्द्र दुइ भाइमध्ये जेठा हुन्।

जिप दुर्घटनामा दुई भारतीयसहित अन्य ६ जनाले पनि ज्यान गुमाएका छन्।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान शैल्यशिखर नगरपालिका–६ बकजेबलामा दुर्घटना भएको हो। १३ यात्रु सवार जिप सडकबाट डेढ सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुलेको छैन।

प्रतिक्रिया