पोखरा,१४ असोज २०८१।
इमेज सहकारी ठगी प्रकरणमा मुख्य आरोपी ठानिएका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको बयान सकिएको छ।
भारतको राजधानीबाट पक्राउ गरेर नेपाल ल्याइएका नेपालीलाई आज जिल्ला अदालत बागलुङमा पुर्याएर बयान लिइएको छ।
करिब १६ महिनादेखि फरार उनको बयान सकिएको र मंगलबार चाहिँ थुनछेकको बहस हुने जिल्ला अदालत बागलुङका शाखा अधिकृत ऋषिराम रिजालले जानकारी दिए।
जाहेरवाला धेरै हुँदा र उनीमाथि मुद्दासमेत फरक–फरक भएकोले बयान लामो भएको उनले बताए। आइतबार बेलुकी बागलुङ पु¥याइएका नेपालीलाई प्रहरीले आफ्नै हिरासतमा राखेको छ।
नेपालीविरुद्द बागलुङका एकहजार पांचसय ४३ जना बचतकर्ताले रकम ठगीको आरोप लगाएर जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते जिल्ला अदालतमा एकअर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो।
यो मुद्दामा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन्।
उनीहरूलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ। भण्डारी, बुढा र किसान साउन ५ गतेनै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर २०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन्।
नेपालीविरुद्ध बचत रकम ठगी गरेकाले सोही बराबरकै बीगो भराइ पाउन तथा ठगी मुद्दामा जेल सजायसमेतको माग गरिएको छ।
त्यसबाहेक सहकारी रजिष्ट्रारको कार्यालयको अध्ययनमा भए अनुसार सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा सहकारीमा गैरशेयर सदस्यलाई आर्कषक ब्याजको प्रलोभन देखाइ बागलुङबाट ७ हजार ९४, पोखराबाट २ हजार ६ सय ६१ र गलकोटबाट १ हजार ७ सय ७४ गरी ११ हजार ५ सय २९ जना गैरशेयर सदस्यबाट रकम उठाएको आरोपसमेत छ।
उनीविरुद्ध पोखरामा पनि ५ सय ५३ जनाले ठगीको उजुरी दिएका छन्। बागलुङको थुनछेक बहसपछि उनलाई पोखरा ल्याइने छ।