रेडक्रसको कार्यशलीप्रति भूकम्पपीडित रुष्ट

रेडक्रसको कार्यशलीप्रति भूकम्पपीडित रुष्ट


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ जेष्ठ २०७३
  • 9.9K
    Shares

परोपकारी संस्थाको रुपमा स्थापित रेडक्रसले पनि स्थानीय एनजीओ सरह नाफामुखी काम गर्ने गरेको स्थानीयबासीबाट आरोप आउन थालेको छ । दातृसंस्थाको करोडौं रकमबाट ‘ओभरहेड’ खर्च लिएर जीविकोपार्जन, स्वास्थ्य तथा सरसफाइ लगायतका क्षेत्रमा काम गर्ने गरेको रेडक्रसमाथि आरोप छ ।
‘रेडक्रस भन्ने बित्तिकै बिपद, महाबिपदमा रातो क्रस चिन्ह भएको एप्रोन लगाएर घाइतेहरुलाई स्ट्रेचरमा बोकेर उद्धार गरिरहने मान्छेहरुको संस्था भन्ने झल्को आउँछ’ मानवीय सहयोगको क्षेत्रमा लामो समय अनुभव संगालेका हरि देवकोटा भन्छन् ‘तर महाभुकम्पपछि गोरखाको रेडक्रस त्यस्तो देखिएन । विशुद्ध सेवाको काम गर्न स्थापित रेडक्रस पनि अकूत नाफा कमाउने एनजीओ झैं दातृ निकायबाट रकम लिएर काम गरिरहेको छ ।’
आपतकालीन अबस्थामा उद्धार र राहतको काम गर्नु रेडक्रसको काम भएपनि यत्तिका समयसम्म राहतको नाममा पैसा बाँडिरहँदा रेडक्रसको काममाथि प्रश्न उठ्न थालेको पत्रकार महासंघका जिल्ला अध्यक्ष भीमलाल श्रेष्ठ बताउँछन् । ‘रेडक्रसको काम नै बिपतका बेला उद्धार र राहतको काम गर्ने हो’ उनले भने ‘अहिले त भुकम्प गएको १४ महिना भइसकेको छ । जनजीवन सामान्य अबस्थामा आइसकेको छ । तर अहिले पनि रेडक्रस जस्तो संस्थाले हात धुन सिकाउने, पैसा बाँड्ने जस्तो काम गर्न सुहाउँदैन ।’ स्वयंसेवी र परोपकारी भनेर सबैको मन जितेको रेडक्रसले देशी विदेशी दातृ निकायसंग पैसा लिएर दर्जनौं कर्मचारी भर्ना गरी एनजीओले गर्ने काम गरिरहन नहुने उनको भनाइ छ ।
रेडक्रस गोरखाले भुकम्प गएको १४ महिना बितिसक्दासम्म पनि पीडितहरुलाई पैसा बाँडिरहेको छ । बारपाक, जौबारी, श्रीनाथकोट, थालाजुङ, हर्मी, मिरकोट, गाँखु, मनकामना र बक्राङ गाविसका पीडितहरुलाई छ÷छ हजार रुपियाँका दरले हालसालै पनि पैसा बाँडिरहेको छ । गतबर्षको आपत्कालीन राहतका लागि भनेर जर्मन रेडक्रसबाट प्राप्त पैसा अहिलेसम्म पनि वितरण गरिएको हो ।
साथै बाख्रा बितरण गर्ने, जर्किन वितरण गर्ने, बुरुस, मञ्जन, साबुन, लिपकेयर, क्रिम, पाउडर, सेम्पु, पालिस, ट्वाइलेट पेपर लगायतका सामग्री वितरणको काम पनि रेडक्रसले गरिरहेको छ । राहत वितरणको काम गर्दा अरु संस्थाले जस्तै ओभरहेड खर्च असुल्ने गरेको स्रोतले जनाएको छ । ‘हात धुन सिकाउने, जनचेतना कार्यक्रम गर्नका लागि ३५ लाख रुपियाँ बिनियोजन गरिएको छ’ रेडक्रसका कार्यक्रम संयोजक शिवप्रसाद सिग्देलले भने ‘आठ करोड रुपियाँको खानेपानी तथा सरसफाइ सम्बन्धी काम गर्छौं ।
सिकर्मी, डकर्मीको काम सिकाउने तालिम सञ्चालन गर्न, भग्नाबशेषहरु हटाउन, सामुदायिक भवन, विद्यालय बनाउन १४ करोड खर्च गर्दैछौं ।’ नगद, कुखुरा, बाख्रा, बिउबिजन बाँड्नका लागि ६० लाख रुपियाँ छुट्याएको उनले बताए । साथै मासिका, ग्रास्वाकाहरुलाई स्वास्थ्य सम्बन्धी तालिम दिने, प्राथमिक उपचारका सामग्री वितरणका लागि ७३ लाख रुपियाँ खर्च गरिने पनि उनले बताए ।
रेडक्रस अरु एनजीओ भन्दा फरक र सर्बमान्य परोपकारी संस्था भएकाले सभापति जिल्ला दैवी प्रकोप उद्धार समितिको सदस्य पनि रहने ब्यबस्था छ । तर यहाँको रेडक्रसले अन्य एनजीओले झै ओभरहेड खर्च लिएर एनजीओले गर्ने काम गरिरहेको छ ।
रेडक्रसले भुकम्पबाट बढि पिडित १४ जिल्लामा एघारहजार पाँचसय घर बनाउने तयारी गरे पनि सो रकम बङ्गुर, सँगुर, बाख्रा, कुखुरा वितरणमा रकमान्तर गरेको रेडक्रस जिल्ला शाखाका सभापति यदुविलास भट्टराईले जनाए । उनले रेडक्रस र अरु एनजीओ उस्ताउस्तै नभएको दाबी गरे । तर ठूलो विपतको बेला भएकाले उद्धार, राहतको काम गरिरहेका उनले दाबी गरे । ‘हामी अरु सामान्य एनजीओ जस्तो त हैनौं तर मेगा डिजेस्टरका बेला भएकाले त्यस्ता काम गरिरहेका हौं’ भट्टराईले भने ।

प्रतिक्रिया