कालिकोट जिल्ला कारागारबाट एक जना कैदी फरार भएका छन् । ज्यान मारेको उद्योगमा जेल सजाय भुक्तान गरिरहेका कालिकोट ओदानकुका हेमन्त भनिने दलबहादुर शाही फरार भएको कारागार शाखाले जनाएको छ । कालिकोट कारागार शाखामा जेल सजाय भुक्तान गरिहरेका शाही शुक्रबार दिउँसो एक जना प्रहरी जवानको साथमा बजारमा घुम्न गएको र उनी बजारबाटै फरार भएको कारागार शाखाले जनाएको छ । २०६६ साल यता बाँके जिल्ला अदालतले गरेको फैसाला अनुसार उनले २० वर्ष कैद सजाय पाएका थिए ।
कैदी भागेको बिषयलाई लिएर कालिकोट जिल्ला सुरक्षा समितिको बैठक वसेर तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ । उक्त समितिमा सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको प्रहरी निरिक्षक, राष्ट्रिय अनुसन्धान बिभागका जिल्ला प्रतिनिधि सदस्य रहनेछन् । उनको खोजीकार्यलाई तिव्र पारिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरीधारी सुबेदीले बताए ।