सिन्धुलीस्थित बोर्डिङ स्कुलको होस्टलमा बालकको मृत्यु : धनुषाको जनकपुर-ढल्केवर सडकखण्ड चक्काजाम

सिन्धुलीस्थित बोर्डिङ स्कुलको होस्टलमा बालकको मृत्यु : धनुषाको जनकपुर-ढल्केवर सडकखण्ड चक्काजाम


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ असोज २०८१
  • 5K
    Shares

धनुषाको जनकपुर-ढल्केवर सडकखण्डमा भएको चक्काजाम

पोखरा,६ असोज २०८१।

धनुषाको जनकपुर-ढल्केवर सडकखण्डमा स्थानीय बासिन्दाले चक्काजाम गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिकामा रहेको भगवतीमाई इंग्लिस माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय रजनीश साहको होस्टलमा मृत भेटिएको विषयलाई लिएर धनुषाको जनकपुर-ढल्केवर सडकखण्डमा स्थानीय बासिन्दाले चक्काजाम गरेका हुन् ।

लक्ष्मीनियाँ गाउँपालिका–४ निवासी छात्र साहको मृत्यु शंकश्पद रहेको भन्दै स्थानीय बासिन्दाले जनकपुर-ढल्केवर सडकखण्डमा चक्काजाम गरेका लक्ष्मीनियाँ गाउपालिका वडा नम्बर –४ का वडाध्यक्ष रमेश साहले जानकारी दिए। बिहान ८ बजेदेखि ११ बजेसम्म गरिएको उक्त चक्काजाममा वडाध्यक्ष रमेश साह समेत न्सहभागिता रहेको थियो।

गएको भदौ २ गते सिन्धुलीको कमलामाई नगरपालिकामा रहेको भगवतीमाई इंग्लिस माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय रजनीश साह होस्टेलमा मृत भेटिएका थिए। घटना शंकास्पद रहेको भन्दै पीडित परिवारले छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आएका छन् ।

मृतक रजनीशका बुवा गणेश साहका अनुसार घटनाबारे स्कुलले ढिलो जानकारी दिएका थिए । राति दुई बजे धुलिखेल अस्पताल पुग्दा छोरोको मृत्यु भइसकेको पाएको र घटना शंकास्पद रहेको उनको दावी छ ।

गणेशले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा छोराको पोष्टमार्टम रिपोर्ट माग्न जाँदा वकिल र डाक्टर उपस्थित गराएर मात्रै रिपोर्ट देखाउने भनेको बताए । त्यस्तै विद्यालयका सञ्चालक, प्रिन्सिपल र होस्टेल वार्डेनसहित चार जनाविरुद्ध किटानी जाहेरी नलिएर प्रहरी विद्यालयको पक्षमा उभिएको उनको आरोप छ।

उक्त घटनापश्चात् उनीहरूले विद्यालय अगाडि केहीदिन धर्ना दिएर प्रदर्शन गरेका थिए । भदौ २१ गते सपहीमै सडक अवरुद्ध गर्दा धनुषाका प्रमुख जिल्ला अधिकारीले जाहेरी दर्ता गर्ने आश्वासन दिए पनि अहिलेसम्म दर्ता नभएको वडाध्यक्ष साहको गुनासो छ ।

बाध्य भएर सडक अवरुद्ध गरेको वडाध्यक्ष साहले बताउँदै जाहेरी दर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रतिक्रिया