पोखरा,९ भदौ २०८१ ।
गएको साउन २७ गते बेनी नगरपालिका-९ गिठिनी कालीमूल जंगलमा गाडिएको अवस्थामा भेटिएकी बेनी ९ तोरीपानीकी १९ वर्षीया मीना परियारको पेटमा गर्भ रहेको पुष्टि भएको छ।
स्थानीय गलेश्वर माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत मीनाको शबको पोखरास्थित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गर्दा गर्भमा मृत भ्रुण भएको पुष्टि भएको हो ।
म्याग्दी प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार, अब भ्रूणचाहिँ रामुकै हो कि हैन भन्ने प्रमाणित गर्न रामुको डीएनए संकलन गरी फरेन्सिक परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशाला पठाउने तयारी गरिएको छ। हत्यामा धारिलो हतियार प्रयोग भएको पनि पुष्टि भएको उनले बताए।
०८० पुस १६ गते रातिदेखि एपत्ता मीनाको खोजतलासका लागि परिवारले पुस २२ गते प्रहरीमा जाहेरी दिएको थियो भने माघ २१ गते छिमेकी राम खत्रीले नै मीना परियारलाई बेपत्ता बनाएको भन्दै ‘व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुर’मा जाहेरी दिएको थियो ।
जिल्ला अदालतको ०८० फागुन १७ गतेको थुनछेक आदेशबाट आरोपित खत्री यसअघि नै पुर्पक्षका लागि थुनामा छन् ।
मीना र रामबीच प्रेम सम्बन्ध भई पटक-पटक यौन सम्पर्कबाट मीनाको ६ महिनाको गर्भ रहेको खुलेपछि रामले पटक-पटक उक्त गर्भपतन गर्न दबाब दिएको फेसबुक म्यासेन्जरबाट खुलेको थियो ।
तर आरोपित खत्रीले प्रेम सम्बन्ध भई यौन सम्पर्क भएको स्वीकार गरे पनि हत्या, बेपत्ता पारेको आरोप भने अनुसन्धान गर्ने प्रहरी, मुद्दा अभियोजन गर्ने सरकारी वकिल र अदालतमा इन्कारी बयान दिँदै आएका थिए ।
त्यसैबीच दलित अगुवा तथा संस्थाहरुले मीनाको अन्तरजातीय प्रेम सम्बन्धकै कारण हत्या भएको भए पनि विभिन्न दबाबमा प्रहरीले अनुसन्धानमा चासो नदिएको आरोप लगाउँदै दैनिक प्रदर्शन गरिरहेका छन् ।
‘सुरुमा पनि प्रहरीले जाहेरी लिन आनाकानी गर्यो । हामीले काठमाडौं पुगेर सांसद, मन्त्रीलाई भन्न लगाएर बल्ल व्यक्ति बेपत्ता मुद्दा दायर भएको हो ।
अहिले पनि चनाखो नहुने हो भने मुद्दाले स्वरुप फेर्ला भन्ने त्रास छ,’ संयुक्त राजनैतिक दलित संघर्ष समितिका लालु किसानले भने, ‘हामीले मीना र रामबीचको म्यासेन्जर संवाद सार्वजनिक भएसँगै प्रहरीलाई सचेत गराएका हौं । अहिले पनि मुद्दाको अनुसन्धान फितलो होला, कानुनका नौ सिङ भन्छन्, विषयान्तर हुन नदिन र मुद्दा कमजोर नबनाउन दबाब दिएका हौं ।’
मीनाको मृत्यु भएसँगै परिवारले रामसहित परिवारका ५ जनाविरुद्ध हत्या अभियोगमा किटानी जाहेरी दिएका छन्। जाहेरी दिएकामध्ये ३ जना पक्राउ परिसकेको र २ जना फरार रहेको सूचना अधिकृत रायमाझीले बताए।