सहकारी ठगी प्रकरण : जेलबाट ल्याउँदै बयान लिंदै संसदीय बिशेष समिति, रबि लामिछानेलाई पनि बोलाउने तयारी

सहकारी ठगी प्रकरण : जेलबाट ल्याउँदै बयान लिंदै संसदीय बिशेष समिति, रबि लामिछानेलाई पनि बोलाउने तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ साउन २०८१
  • 3.4K
    Shares

पोखरा, २७ साउन २०८१।

शेयर सदस्यहरुको रकम ठगी गरेको आरोप लागेका जेल जीवन बिताइरहेका सहकारी संस्थाका सञ्चालकहरूलाई बोलाएर संसदीय छानबिन समितिले बयान लिने कार्य शुरु गरेको छ। यसैक्रममा पहिलो दिन शुक्रबार गौतम श्री, लालीगुराँस र गोरखा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूसँग बयान लिएको समितिले शनिवार थप चार सहकारीका सञ्चालकहरूसँग बयान लिएको हो।

विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये शनिबार पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एन्ड कोअपरेटिभका पूर्व अध्यक्ष सीबी लामा भनिने चन्द्रबहादुर तामाङसँग केन्द्रीय कारागार, जगन्नाथ देवलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको सभापति सूर्य थापाले जानकारी दिए।

नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बासँग नख्खु जेलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको उनले बताए।

सभापति थापाका अनुसार शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, कौशलटार भक्तपुरका शेयर सदस्य, ऋणी तथा केदारनाथ शर्माकी श्रीमती गीता शर्मासँग केन्द्रीय कारागार, जगन्नाथ देवलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको छ।

यस्तै तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग नख्खु जेलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको छ।

जेल भित्रै रहेका कैदीहरूलाई संसदीय समितिमै ल्याएर बयान गरिएको हो। बयानकालागि शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड र नागरिक बचत तथा ऋण सहकारीका सञ्चालकहरूसँग बयान लिइएको समिति सदस्य ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।

सात सदस्यीय ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले तीन महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने छ।

सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका अनुसूची, १ मा उल्लेख भएका संस्थाहरूको समस्या समाधानको प्रयास गरेको समितिले जनाएको छ।

समस्याग्रस्त सहकारीको अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने समितिले बताएको छ। समितिले पाएको तीन महिना मध्ये दुई महिना सकिएको छ। समितिले अबको एक महिना भित्रमा काम सकाउनुपर्नेछ।

आगामी भदौ एक गतेसम्म सहकारीका सञ्चालक तथा अध्यक्षहरूसँग बयान लिने कार्य सक्ने योजना बनाएको समितिले अहिले अर्बौँ रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ सुरु गरेको हो।

समितिले गोर्खा मिडिया नेटवर्कमा गएको सहकारीको रकमबारे पूर्वगृहमन्त्री रवि लामिछानेसँग पनि सोधपुछ गर्ने तयारी गरेको छ।

प्रतिक्रिया