राती दलित एकल महिलाका आमा-छोरालाई आक्रमण गर्ने गाउँलेहरुको समूहलाई कारबाही गर्न कास्की प्रहरी किन गर्दैछ आलटाल ?

राती दलित एकल महिलाका आमा-छोरालाई आक्रमण गर्ने गाउँलेहरुको समूहलाई कारबाही गर्न कास्की प्रहरी किन गर्दैछ आलटाल ?


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ साउन २०८१
  • 9.9K
    Shares

पोखरा, २१ साउन २०८१।

गाउँलेहरुको कुटाई खाएर थिलो-थिलो भएको जिउ लिएर उपचारका लागि गएको साउन १० गते पोखराको मणिपाल शिक्षण अस्पताल पुगेकी कास्की जिल्लाको माछापुच्छ्रे गाउपालिका वडा नम्बर ८ ल्वाङ गाउँकी सुमित्रा परिवारलाई अस्पतालले राम्रोसंग उपचार नै नगरी घर फर्काइदियो।

थिलो-थिलो भएको ज्यान बोकेर सकी-नसकी उनी आफ्ना छोरा बिशाल र आफन्त लिएर “आफूहरुमाथि कुटपिट गर्नेहरुलाई कारबाही गरि पाउँ” भन्दै वडा प्रहरी कार्यालय बगर पोखराको गेटमा हप्तौंसम्म धाइ रहिन्। उनले आफू र आफ्नो छोरा बिशालमाथि भएको आक्रमणको भिडियो पनि त्यहाँका प्रहरीका हाकिम अनि अरु प्रहरी कर्मचारीलाई पटक-पटक देखाइन् र दोषीलाई समातेर कारबाही गरिदिन अनुरोध पनि गरिन्। तर प्रहरीले उनको अनुरोधलाई टेरपुच्छर नै लगाएन।

छोरा बिशाल परियारले त दुई पटकसम्म आफू र आफ्नी आमालाई कुट्नेहरुको नामै किटेर उल्लेख गर्दै वडा प्रहरी कार्यालय बगर पोखरामा जाहेरी लिएरै पुगे। तर वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरिक्षक बोधराज रेग्मीले आफूहरुमाथि सांघातिक आक्रमण गरेको प्रस्ट देखिएको व्यक्तिहरुको नाम काटेर जाहेरी लेख्न अर्हाएको पिडित बिशाल परियार बताउछन। त्यति बेला बगर प्रहरी प्रमुख प्रहरी निरिक्षक रेग्मीले भनेको कुरा सम्झंदै उनी अघि थप्छन्,”यिनीहरुको नाम काटेर जाहेरी ल्याउ , नत्र जाहेरी नलिन मलाई पूर्व आइजी सापको दबाब छ। ”

आफूहरुमाथि आक्रमण गर्ने यिनै व्यक्ति हुन् नपत्याए भिडियोमा हेर्नुस भन्दै भिडियो देखाएको उनले स्मरण गरे। तैपनि प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेन।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाले “पूर्व आइजी सापको दबाब आएको भए पनि पीडितले प्रक्रिया पुर्याएर जाहेरी लिएर आउछन भने दर्ता गर्नू” भनेर आफूले बगर प्रहरीको प्रमुखलाई निर्देशन दिएको जानकारी दिए। तर वडा प्रहरी कार्यालय बगर पोखराले आफ्नै तरीकाले दुई जनालाई पक्राउ गरेर अभद्र ब्यबहार मुद्दा दर्ता गरेको जानकारी दिएको छ।

त्यतिबेला गाउँलेको कुटाई खाएका बिशाल परियारले स्मरण गर्दै अघि भने”दिउँसो गाउँको स्कुलमा सामान्य भनाभन भएको थियो। बेलुका त हुल बाँधेर आएछन। म भित्रै सुतिरहेको थिएँ। कहाँ गयो त्यो,दमाइको छोरो ? बाहिर निकाल। घरमा आगो लगाइदे भन्दै झ्यालको जाली च्यातेर तथानाम गाली गरे। मलाई त त्यही झ्यालबाट छिराएर चिर्पटले हाने, म ढलें। ” उनीहरु ढोका खोलेर भित्र पसी मलाई कुट्न लागे। मलाई बचाउन आमा ममाथि पल्टिनु भयो। आमामाथि लाठि, घोचा, चिर्पट वर्षाए। आमाको ज्यान थिलो-थिलो हुने गरेर कुटे। आमाले ‘गुहार गुहार’ भनेर रोइ रहिन्। कराई रहिन्, चिच्याई रहिन्। तर कसैले सुनेन। ” तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएकी घाइते आफ्नी आमाको राम्रोसंग उपचार नहुँदै डिस्चार्ज गरिएको पनि उनले गुनासो गरे।

आफूहरु माथि भएको आक्रमणको मिडियामा समाचार आएपछि भने पिडित परिवारहरुलाई केही राहत महशुश भएको छ। आफूमाथि भएको आक्रमणबाट बचाउन गाउँलेको कुटाइ खाएर जिउ थिलो-थिलो भएकी आफ्नी आमालाई उनले फेरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल भर्ना गरेका छन्। अस्पतालमा उपचाररत घाइते सुमित्रा परियारले आफ्नो दुखेको जिउ देखाउदै भनिन्,”शरीर थिलो-थिलो भएको छ। ज्यान बेस्सरी दुखेको छ। त्यस दिन छोरा बचाउन खोज्दा मलाई धन्नै मारेनन्। मैले रोएँ, कराएं, चिच्याएँ। गुहार मागें। तर कसैले सुनेन, बाबु, कसैले सुनेन। मैले न्याय पाइन। न्याय पाउँ। ”

उक्त घटना बारे मिडियामा आए पछि भने मानव अधिकार आयोगको पोखारस्थित कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराले चासो देखाएका छन्। उक्त घटना बारे मानव अधिकार आयोग र इन्सेकको टोलीले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापालाई भेटेर जानकारी लिएको छ।

कास्की प्रहरी प्रमुख एसपी थापासंग भेटेपछि इन्सेक पोखराका प्रमुख शिव खकुरेलले अघि भने,”ल्वाङ घटनाका पिडितको जाहेरी लिन प्रहरीले नमानेको कुरा आएको छ। जातीय विभेद हुने गरी बोलिएको भन्ने कुरा आएको छ। हामी बुझ्दैछौँ। जसले जहाँबाट दबाब दिएको भए पनि पीडितले जाहेरी दिए पछि प्रहरीले दर्ता गर्नुपर्छ र अनुसन्धान गरेर पीडकलाई कारबाही गरिनुपर्छ। ”

मानव अधिकार आयोग पोखराकी निर्देशक नितु पण्डित गड्तौलाले “घटना बारे आबश्यक सोधपुछ र अनुसन्धान भैरहेको” जानकारी दिइन्। उनले आबश्यक अनुसन्धान पछि मानव अधिकार आयोगले प्रहरीलाई उचित निर्देशन दिने बताइन्। प्रहरीले पिडित पक्षबाट जातीय छुवाछुतको जाहेरी आएमा दर्ता गरेर प्रहरी आफूले अनुसन्धान गर्न तयार रहेको जानकारी दिएको पनि उनले स्पस्ट पारिन्।

प्रतिक्रिया