पोखरा,५ साउन २०८१।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । संस्था स्थापना भएको वर्ष ०६५ यताको सफ्टवेयर भेटिएपछि ०७२ सालअघिका सहकारीका पूर्वसञ्चालक समितिका २५ जना पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
यसअघि ०७२ पछिका १९ जना पदाधिकारीलाई प्रतिवादी बनाएर प्रहरीले मुद्दा अघि बढाएको थियो । त्यसमध्ये ५ जना मात्रै पक्राउ परेका थिए । हाल प्रतिवादीको संख्या ४४ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले २०७२ अघिका सञ्चालक समितिका पदाधिकारीविरुद्ध एक साताअघि पक्राउ पुर्जी जारी भएको बताए । ‘हामीसँग पहिला ०७२ यताको मात्रै सफ्टवेयर उपलब्ध थियो, त्यसैका आधारमा त्यसयताका सञ्चालक समितिका पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो,’ उनले भने, ‘संस्था स्थापना भएको वर्ष ०६५ यताको सफ्टवेयर भेटिएपछि थप २५ जनालाई प्रतिवादी बनाएका हौं ।’
सहकारीपीडितले अघिल्लो प्रतिवेदन अपुरो भएको भन्दै ०८० माघ २२ मा दोस्रोपल्ट उजुरी दिएका थिए । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार व्यक्ति र १४ कम्पनीविरुद्ध छानबिनको माग गर्दै पीडितले उजुरी दिएका हुन् । उक्त उजुरीपछि महानगरका विज्ञ प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय र पीडितका प्रतिनिधि सम्मिलित टोलीले सूर्यदर्शनको पुनः वित्तीय विश्लेषण प्रतिवेदन तयार गरेको थियो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उक्त प्रतिवेदन वैशाख २७ मा प्रहरीलाई बुझाएका थिए । तीन हजार चार सय १९ पृष्ठको प्रतिवेदन ९ खण्डमा विभाजित छ । १८ हजार सात सय बचतकर्ताको बचत अपचलन भएको र चार सय ३३ ऋणी रहेको प्रतिवेदनमा उल्लेख छ ।
पोखरा महानगरपालिकाले तयार गरेको सूर्यदर्शनको दोस्रो वित्तीय विश्लेषण प्रतिवेदन भने अध्ययनकै क्रममा रहेको उनले बताए । ‘अहिले पक्राउ पुर्जी जारी भएको पूर्वसञ्चालक समितिका पदाधिकारीविरुद्ध हो,’ उनले भने, ‘ऋणीतर्फको पाटो अनुसन्धानकै क्रममा छ । एक–एक गरेर प्रतिवेदन अध्ययन गरिरहेका छौं ।’ रास्वपा सभापति लामिछानेसहित उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट ऋण प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।
२०८० साउन २२ मा सहकारीपीडितले सञ्चालक समितिका ६ र सहकारी ठगीका मुख्य योजनाकार पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएका थिए । साउन २४ गते राईसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भयो । भदौ १० मा महानगरले सहकारीको वित्तीय स्थिति विश्लेषण गर्न चार्टर्ड एकाउन्टेन्ट अनिल लामिछाने र सहकारी समितिका सदस्य दीपकप्रकाश आचार्य रहेको विज्ञ टोली नियुक्त गरेको थियो । असोज १० मा विज्ञ टोलीले महानगरलाई र महानगरले जिल्ला प्रहरी कार्यालयलाई विश्लेषणात्मक प्रतिवेदन हस्तान्तरण गरेको थियो । असोज २ मा पूर्वसञ्चालक समिति, कर्मचारीसहित थप १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । असोज १८ मा जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको थियो ।
हाल सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई, पूर्व सञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र आर्ईटी प्रमुख भविश्वर अर्याल पुर्पक्षका लागि कास्की कारागारमा थुनामा छन् ।
महानगरको विज्ञ टोलीले तयार गरेको प्रतिवेदनअनुसार १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ सहकारीमा बचत थियो । जिल्ला सरकारी वकिलको कार्यालयले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार बिगो दाबी गर्दै चलाएको मुद्दा अदालतमा विचाराधिन छ । प्रतिवेदनमा १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार ९ सय ८ रुपैयाँ सहकारीले ऋण लगानी गरेको उल्लेख छ ।
कास्कीमा मात्रै आर्थिक वर्ष ०८०/८१ मा सहकारी ठगीसम्बन्धी ७ वटा मुद्दा दर्ता भएका छन् । प्राइम बहुउद्देश्यीय सहकारी संस्थामा १ अर्ब ५४ करोड १५ लाख ८ हजार १ सय ४२ रुपैयाँ अपचलन गर्ने ६५ जना प्रतिवादी रहकामा २५ जना पक्राउ परेकामध्ये १८ जना धरौटीमा छुटेका छन् । ७ जना पुर्पक्षका लागि थुनामा छन् । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा ५४ करोड ५३ लाख ८५ हजार ३ सय ३८ रुपैयाँ अपचलन गर्ने ११ जनामध्ये ४ जना पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् । इमेज बचत तथा ऋण सहकारीको ६४ करोड ८८ लाख ६० हजार ४ सय ७९ अपचलन गर्ने बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहित १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा ६ जना मात्रै पक्राउ परेका थिए । तीमध्ये ४ जना धरौटीमा रिहा भइसकेका छन् । नगर प्रमुख नेपाली अझै फरार छन् ।
बलिदानी बचत तथा ऋण सहकारी संस्थाको १० करोड ५९ लाख ३५ हजार ८ सय ४४ रुपैयाँ अपचलन गर्ने १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा ५ जना मात्रै पक्राउ परेका छन् । तीमध्ये २ जना धरौटीमा रिहा भएर ३ जना थुनामा छन् । मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामा ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ अपचलन भएको छ । ठगीमा संलग्न ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा २० जना पक्राउ परेका छन् । तीमध्ये ११ जना धरौटीमा रिहा भएका छन् । विन्ध्यवासिनी बचत तथा ऋण सहकारीको ७ करोड ६९ लाख ५९ हजार ८ सय ३४ रुपैयाँ अपचलन गर्ने ३१ जनामध्ये १९ जना पक्राउ परेका छन् । तीमध्ये १७ जना धरौटीमा रिहा भइसकेका छन् ।