पोखरा, ५ असार २०८१/
डेढ अर्बभन्दा बढी रकम अपचलन भएको पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था ठगी मुद्दामा थुनछेक बहस शुरु भएको छ । कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश रामचन्द्र शर्माको इजलाशमा मंगलबारदेखि उक्त मुद्दाका आरोपीबिरुद्ध थुनछेक बहस शुरु भएको हो।
मंगलबार वादी नेपाल सरकारतर्फ जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले बहस गरिन् । बहस नसकिएपछि उक्त इजलाशले मुद्दा हेर्दाहेर्दैमा राखेको छ ।
जिल्ला सहकारी वकिलको कार्यालयले बलराम चापागाईं समेतको जाहेरीले सुरेन्द्रमणि पौडेलसमेत ६५ जनालाई प्रतिवादी बनाएर आठदेखि १० वर्षसम्म कैद सजाय तथा एकअर्ब ५७ करोड १५ लाख आठहजार एकसय २४ रुपैयाँ ८५ पैसा बिगो रकम माग दाबीसहित आइतबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । नेपाल सरकारका उच्च तहका कर्मचारीसमेत मुछिएको यो ठगी गण्डकी प्रदेशमै सबैभन्दा ठूलो सहकारी ठगी प्रकरण हो ।
जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले पहिलो दिन मंगलबार वादीका तर्फबाट मात्र बहस भएको र बुधबारदेखि फेरि बहस जारी रहने बताए । उनका अनुसार बुधबार प्रतिवादीका तर्फबाट पनि बहस शुर हुनेछ । त्यसअघि वादी नेपाल सरकारका तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधीवक्ता विपीनराज तिवारीले बहस गर्ने छन् ।
पोखराको गैह्रापाटनमा कार्यालय रहेको प्राइम सहकारी ठगी मुद्दामा सहकारीका पूर्व तथा वर्तमान पदाधिकारी, सहकारी कर्मचारी, लेखापरीक्षक, नेपाल सरकारका कर्मचारी, समेतलाई विपक्षी बनाइएको छ । विज्ञको वित्तीय विश्लेषण र प्रहरीको अनुसन्धानबमोजिम एक अर्ब ५७ करोड १५ लाख हिनामिना भएको देखाइएपछि सरकारी वकिल कार्यालयले सोही रकम आधार मानेर अभियोगपत्र दायर गरेको सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले बताइन् । तर, सहकारीका नौसय ९३ बचतकर्ताको उजुरीमा भने उक्त रकमभन्दा कम थियो ।
१ अर्ब ५७ करोड बिगो माग गरिएको मुद्दामा ६५ प्रतिवादीमध्ये अझै ५६ फरार
प्राइम सहकारीको रकम अपचलन तथा हिनामिना गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले गत जेठ १ गते सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, सहकारी व्यवस्थापक निरु थापा केसी, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङ समेत आठ जनालाई पक्राउ गरेको थियो ।
कानुनी सल्लाहकार बराल भने बन्दी प्रत्यक्षीकरण रिटमा तारेखमा रिहा भएकोमा हाल फरार छन् । अर्का प्रतिवादी सन्तोष घिमिरेलाई कारागारबाट झिकाइएको हो । घिमिरे पोखराकै मित्रमिलन सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा थिए । प्रहरीले उत्तम मगरलाई पनि थुनछेक बहसमा उपस्थित गराएको थियो । हालसम्म नौ जना उपस्थित भए पनि अन्य ५६ जना प्रतिवादी अझै फरार छन् ।
कास्की प्रहरीले ८ जनालाई पक्राउ गरेकै दिन एक सूचनामार्फत सहकारीका बचतकर्तालाई उजुरीका लागि आह्वान गरेको थियो । प्रहरीको अनुरोधपछि झण्डै एक हजार बचतकर्ताले उजुरी दिएका छन् । सहकारीमा बचत खाता कुल तीन हजार पांच सय ८५ वटा र एकहजार आठ सय ६२ बचतकर्ता छन् ।
अभियोगपत्रमा मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापा भएको ठहर गर्दै उनीहरुले नै यति ठूलो ठगीको योजना बनाएको सहायक जिल्ला न्यायाधीवक्ता तिवारीले बताए । ६५ प्रतिवादीमध्ये सबैलाई सहकारी ठगी र केहीलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय छ । उनका अनुसार अभियोगपत्रमा सहकारी विभाग काठमाडौंका कर्मचारीले रकम लिएको, वैदेशिक भ्रमणमा सहकारीकै खर्चमा गएको, सहकारी विभागबाट अनुगमनमा आएका शाखा अधिकृत सन्देशप्रसाद जोशी र नासु कमल पोखरेलले समेत १५ लाख रकम लिएको अभियोग छ । गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका तत्कालीन प्रमुख बद्रीनाथ अधिकारी, सहकारी डिभिजन कार्यालयका कर्मचारी बालकृष्ण सुवेदी र राष्ट्रिय सहकारी बैंक पोखराका शाखा प्रमुख सन्तोष घिमिरेले पनि रकम र अन्य सुविधा लिएको अभियोगपत्रमा छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगका प्रदेशसचिव बद्रीनाथ अधिकारी सहकारीको अनियमिततामा संलग्न रहेको प्रतिवादीले बयान दिएका छन् । हाल उनी पनि फरार सूचीमा छन् ।
स्रोतका अनुसार सहकारी अध्यक्षको चेकमा हस्ताक्षर नचल्ने र प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापाको मात्र हस्ताक्षर चल्ने गर्दथ्यो । प्रमुख कार्यकारी निर्देशक पौडेलले तलबभत्तामात्र २ लाख र व्यवस्थापन थापाले १ लाखभन्दा बढी खाने गर्दथे ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले प्राइम सहकारी ठगीका फरार प्रतिवादीलाई तत्काल पक्राउ गर्ने आश्वासन दिए । उनले भने, ‘फरार प्रतिवादीलाई अब तत्कालै पक्राउ गरेर कानुनी कारबाही गर्छौ ।’ उनका अनुसार कास्कीमा प्राइमसहित विभिन्न ७ सहकारीको अनुसन्धान भइरहेको छ ।
२०६६ सालमा पोखरा पन्थीगल्लीबाट सेवा सुरुआत गरेको सहकारीले केही वर्षमै गैह्रापाटनमा आफ्नै भवनमा सरेको थियो । सहकारीले लेखनाथको तालचोक नजिकै आफ्नै भवनबाट शाखा कार्यालयको रुपमा सेवा केन्द्र सञ्चालन गर्दै आएको थियो । केही महिनादेखि नै सहकारीका सबै कारोबार बन्द भएको थियो । कास्की, तनहुँ र गोरखा जिल्लामा कार्यक्षेत्र रहेको सहकारीले २ वर्षअघि कास्कीको नयाँपुल, पोखरा बगरमा पनि सेवा केन्द्र खोलेको थियो ।