पोखरा, २९ जेठ २०८१/
गोरखा जिल्ला सदरमुकामबाट ५० कोशभन्दा टाढा रहेको चीनको तिब्बती सीमा क्षेत्रमा पर्ने गोरखाको अन्तिम गाउँ छेकम्पारका दुई युवालाई चिनियाँ प्रहरीले पक्राउ गरेको छ।
गोरखाको चुमनुब्री गाउँ पालिका वडा नं. ७ (साविक छेकम्पार गाविस) स्थित लामागाउँका अन्दाजी ३० बर्ष उमेरका युवाहरु कर्मा राप्के लामा र छुले गाउँका कर्मा छेदेन लामालाई चिनियाँ प्रहरीले तिब्बतमा पक्राउ गरेको हो ।
करिब डेढ महिनाअघि दुवैजनालाई तिब्बती प्रहरीले तिब्बती भूमिबाटै पक्राउ गरेको स्थानीयबासीले बताएका छन् । उनीहरु पक्राउ गरिएको बारे अहिले आएर उनीहरुको पक्राउ बारे अनौपचारिक जानकारी दिइएको गोरखाको चुमनुब्री गाउँ पालिकाका अध्यक्ष निमा लामाले जानकारी दिएका छन्। तिब्बती पक्षबाट टेलिफोन सम्पर्क गरी बोलाएर पक्राउ गरेको बताइएको जानकारी दिंदै गाउपालिका अध्यक्ष लामाले अघि भने ‘उनीहरु तिब्बतमा पक्राउ परेका छन् भन्ने अनौपचारिक रुपमा जानकारीमा आएको छ, तर आधिकारिक रुपमा आएको छैन। पक्राउ परेकाहरुको परिबारले पनि आधिकारिक रुपमा जानकारी गराएका छैनन् ।’
जिल्ला प्रहरी कार्यालय गोरखाले पनि सो घटना बारे अनौपचारिक रुपमा मात्र थाहा पाएको जनाएको छ । सो गाउँका सबैजना यार्सागुम्बा संकलन गर्न लेकमा गएको हुँदा सत्यतथ्य सोधपुछ गर्न नसकिएको प्रहरीको भनाइ छ । पक्राउ परेका दुई युवाका आफन्तजनसहित सबै गाउँले तिब्बती सीमा आसपासको लेकमा यार्सागुम्बा संकलन गर्न गएको हुँदा विस्तृत जानकारी प्राप्त हुन सकेको छैन । पक्राउ पर्नुका कारण तथा पक्राउ परेको मिति समेत खुलेको छैन ।
बिगत पाँच बर्षदेखि चिनियाँ सरकारले गोरखा र तिब्बतको सीमानामा पर्ने मुलाढाज्यान नाका बन्द गरेको छ । नाका बन्द भए पनि यी दुई युवालाई सीमानामा बोलाएर पक्राउ गरेको हो । गम्भीर आरोपमा उनीहरु पक्राउ परेको हुनसक्ने स्थानीयबासीको अनुमान छ ।