पोखरा, १५ जेठ २०८१/
पाल्पामा बागनासकाली गाउँपालिकाको मेलमिलाप महिला कार्यकर्तालाई धामी-झाँक्रीले जिउभरी निलडाम हुने गरी कुटेका छन्। बागनासकाली गाउँपालिका–९ घर भएका २९ वर्षीय पदम बस्यालले कार्यपालिकाको मेलमिलाप महिला कार्यकर्तालाई जिउभरी निलडाम हुने गरी कुटेका हुन्।
प्रहरीका अनुसार, कार्यपालिकाको मेलमिलापकर्ता रहेकी ती पिडित महिला, आफ्नो दुहुनो भैंसीले ३/४ दिनदेखि बिरामी भै दुध दिन छाडे पछि जेठ ६ गते झारफुक गर्न छिमेकी समेत रहेका धामी-झाँक्री पदम बस्यालकोमा पुगेकी थिइन्। घरबाटै अक्षता बोकेर गएकी उनले धामी-झाँक्री पदमलाई अक्षता दिँदै भैसीको बारेमा बताएकी थिइन्।
त्यस लगत्तै धामी-झाँक्री पदमले उनको आँखामा हेर्दै ‘दुईवटा ल्वाङ खाउ। तिम्रो आँखामा बोक्सी चढेको छ, त्यो झार्नुपर्छ’ भन्दै पैयुको लठ्ठीले कुट्न शुरु गरेका थिए। ‘तिमिलाई दुख्दैन, यो बोक्सीलाई लाग्छ’ भन्दै निर्घात कुटपिट गरेपछि ती महिला अचेत भई चिच्याउँदै वाहिर निस्किएपछि छिमेकीहरुले उनको उद्दार गरेर घर पुर्याईदिए।
स्थानीय स्वास्थ्य चौकीमा कार्यरत उनका श्रीमानलाई पनि छिमेकीले बोलाए। तर, ती पिडित महिलाले श्रीमानलाई घट्नाका विषयमा वताईनन्। आफू कार्यपालिकाको मेलमिलाप सदस्य र आफ्नो श्रीमान स्थानीय स्वास्थ्य चौकीमा कार्यरत भएकाले आफ्नै बदनाम हुने डरले उनले उक्त घटना लुकाइन् पनि। तर भोलीपल्ट विहान ढाडमा निलडाम देखेपछि श्रीमानले दबाब दिएर उनीसँग सोधपुछ गरे। त्यसपछि उनले श्रीमानलाई सवै कुरा वताईन् ।
दुवैले सल्लाह गरेर आसपासका महिलाहरूलाई बोलाएर घटनाबारे छलफल गरे। धामी-झाँक्री पदम छिमेकी भएकाले माफी मागे कानुनी कारवाहीमा नजाने सहमति भयो। तर, धामी-झाँक्री पदम उनीहरुसँग माफी माग्न नआएपछि प्रियसनाले जेठ ८ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा जाहेरी दिएकी छिन्।
प्रहरीले जेठ ११ गते धामी-झाँक्री पदमलाई पक्राउ गरेको छ। स्थानीयका अनुसार धामी-झाँक्री पदमले ३÷४ महिनाअघिदेखि मात्र आफूले धामीझाँक्री पढेर आएको र आफूमाथि देवी चढेको भन्दै गाउँभरी हल्ला चलाएका थिए। जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले जिल्ला अदालतबाट शुक्रबार नै ७ दिनको म्याद थप गरेर घटना बारे अनुसन्धान भइरहेको बताए।