पोखरा, २६ बैशाख २०८१/
कृत्रिम वर्षा गराउने क्रममा परेको अधिक वर्षासंगै आएको बाढीमा परेर दाङकी एक महिला करीब एक महिनादेखि यूएईमा बेपत्ता रहेकी छिन। वैशाख ४ गते यूएईका भएको भारी वर्षासंगै बाढीमा परेर दाङ तुलसीपुरउपमहानगरपालिका–१, भमकेकी लीला पाण्डे बेपत्ता भएकी हुन्।
यूएईमा भएको अधिक वर्षाको दिन ड्युटीबाट राति कोठा फर्केने क्रममा बाढीमा परेको ठानिएकी पाण्डे त्यसदिनदेखि सम्पर्कबिहीन भएकी दाङस्थित परिवारका सदस्यहरुले जानकारी दिएका छन्। ड्युटीबाट फर्कदै गर्दा त्यस दिन बाढीकाकारण सडकमा सवारी जाम भएको र त्यसपछि उनी सम्पर्कमा नआएको पाण्डेका छोरी ज्वाइँ विराटविक्रम शाहले जानकारी दिए।
पाण्डेसँग भएका सहकर्मीहरुले पनि उनी वैशाख ४ गतेबाटै आफूहरुको सम्पर्कमा नरहेको जानकारी दिएको ज्वाइँ शाहले बताए । उनले घटनाबारे यूएईस्थित नेपाली दूतावासलाई जानकारी गराइसककेको तर कुनै खबर नआएको बताए ।
पारिवारका सदस्यका अनुसार, वैदेशिक रोजगारीका लागि ०७८ माघमा यूएई पुगेकी पाण्डे त्यहाँको एक विद्यालयमा काम गर्थिन् र दुबईको आजमन रौदामा बस्दै आएकी थिइन्। पाण्डेका ४ जना छोरी छन् ।