नवलपुरको छिपछिपे सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेत पक्राउको तयारी

नवलपुरको छिपछिपे सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेत पक्राउको तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ बैशाख २०८१
  • 3.5K
    Shares

राप्रपा सांसद गीता बस्नेत

पोखरा, १९ बैशाख २०८१/

नवलपुरको छिपछिपे सहकारी ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी भएको छ । छिपछिपे सहकारीको रकम हिनामिना पार्ने काम गरेको भन्दै उजुरी परे पछि सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी भएको हो।

बहालवाला सांसद पक्राउ गर्न संघीय संसद सचिवालयको अनुमति लिनुपर्ने कानूनी प्राबधान रहेकाले प्रक्रियामा गएको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

राप्रपा सांसद बस्नेतको समेत संलग्नतामा नवलपुरसहित बुटवल र बर्दियामासमेत गरी सहकारीको रकम ठगी भएको प्रहरीले जनाएको छ । बस्नेतमाथि संगठित अपराधमा पनि अनुसन्धान भइरहेको छ ।

कावासोतीमा रहेको छिपछिपे सहकारीको १६ करोड ६९ लाख रकम हिनामिना गर्ने मुख्य योजनाकार रहेका योगेन्द्र पाण्डे र नगेन्द्रबहादुर रिमालसँगको अवैध कारोबार र संलग्नता देखिएपछि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

‘सहकारी ठगी प्रकरण सात जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएका छौं । अन्य अनुसन्धान पनि अगाडि बढिरहेको छ,’ नवलपुरका एसपी नरहरि रेग्मीले भने ।

सञ्चालक योगेन्द्र पाण्डे, नगेन्द्रबहादुर रिमाल, विकास सापकोट, कृष्ण ज्ञवाली, सञ्जीवकुमार महतोलगायत पक्राउ परिसकेको एसपी रेग्मीले जानकारी दिए ।

प्रहरी कार्यालय कावासोती र वित्तीय विश्लेषक तथा छानबिनकर्ता निर्मल गौतमले अनुसन्धान गरेको छानबिन प्रतिवेदनले सांसद बस्नेतको संरक्षणमा रकम हिनामिना गरेको तथ्य खुलेको थियो । राप्रपा सांसद बस्नेतलाई वैशाख १४ गते पक्राउका लागि अनुमति लिइएकोमा हालसम्म उनी फरार रहेकी छिन् ।

सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोडभन्दा बढी उनका ज्वाई नगेन्द्रबहादुर रिमाल र उनीहरुका साथीमार्फत् रकम निकासी गरेको अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया