नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले जनताका अधिकारमाथि राज्यले दमन गरे प्रतिरोध युद्ध लड्ने चेतावनी दिएका छन् । माओवादी जनयुद्धका बेपत्ता योद्धाको सम्झनामा शुक्रबार खुला मञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै विप्लवले भने, ‘राज्यले जनताको अधिकारमाथि दमन गरे प्रतिरोध युद्ध लड्न तयार छौँ ।’ विप्लवले राज्यका प्रमुख सुरक्षा निकाय सेना र प्रहरीलाई समेत दलालको पक्षमा नलागी जनताको शक्ति चिनेर सहयोग गर्न आग्रह गरे ।

महासचिव नेत्रविक्रम चन्द विप्लवले १० वर्षे युद्धका क्रममा तत्कालिन माओवादीले सञ्चालन गरेको ‘जनसत्ता’ ब्युँताएर गाउँ–गाउँमा आफ्नै पार्टीको नेतृत्वमा स्थानीय सरकार बनाउने उद्घोष गरे । विप्लवले भने, ‘यो देशमा केपी ओली प्रमुख भएको सरकार मात्र छैन्, सन्तोष बुढामगर सत्ता प्रमुख भएको समानान्तर सरकार गठन भैसकेको कुरा सबैले हेक्का राखे हुन्छ । सुशीला कार्की मात्रै प्रधानन्यायाधीश हाेइन, अर्काे पनि प्रधानन्यायाधीश छ भन्ने हेक्का राख्नुपर्छ ।’ ’शहिद बेपत्ताको मुल्य बेचेर खाएमा अर्को राज्य र अर्को कानुन खडा गरिने जिकिर गर्दै उनले भने, ‘यदि युद्धकालका मुद्दा ब्युँताएर हाम्रो घरमा म्याद टाँसियो भने त्यसको भोलिपल्ट केपी ओलीको घरमा म्याद टाँसिदिन्छौं ।’ आफूहरुलाई किसान, मजदुर र सर्वसाधारण जनताले साथ दिने दावी गर्दै नेता विप्लवले वर्तमान सरकारको प्रतिष्पर्धीका रुपमा स्थानीय सत्ता ब्युँताउन लागिएको बताए ।

विप्लवले जनगणतन्त्र स्थापनाका लागि राज्यसत्ता विरुद्ध अघि बढ्न सबै कार्यकर्तालाई खुला मञ्चबाटै आह्वान गरे । ‘दलालहरुको राज्यसत्ता विरुद्ध एकजुट हुन सबैलाई यही खुला मञ्चबाट आग्रह गर्दछु, ’ विप्लवले भने । आक्रमक भाषण गरेका विप्लवले माओवादीलाई कसैले मास्ने सपना देखेको भए त्यो सपना सपनामै मात्र सीमित हुने उल्लेख गरे । १० वर्षे जनयुद्धमा माओवादीले उठाएका मुद्धाको सम्बोधन नभएको भन्दै उनले राज्यको चरित्र दलाल र सामन्ती भएको आरोप लगाए ।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले मधेस र जातीय पहिचानका विषयमा आफ्नो दृष्टिकोण सार्वजनिक गरे। साथै उनी भारतविरुद्ध पनि कडा रुपमा खनिए । भारतले गोर्खाल्याण्ड माग्ने नेपाली भाषीलाई दमन गरेर नेपालका मधेसीहरुको अधिकारको कुरा गर्न नसुहाउने विप्लवको तर्क छ । ‘भारतमा नेपालीभाषीहरुले गोर्खाल्याण्ड मागेको कति वर्ष भयो ? आफ्नो अधिकार माग्ने जनतामाथि उसले दमन गर्छ अनि मधेसीलाई मुक्ति दिन्छ ?’ विहीबार खुल्लामञ्चमा आयोजित कार्यक्रममा विप्लवले भने, दिल्लीले मधेसीलाई मुक्ति दिन्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम मात्रै हो, पहाडी दलाललाई च्यापेर दिल्लीले मधेसीलाई दुःख दिएको छ, दिल्लीले नेपाली जनतालाई माया गर्दैन । भारतले मधेसीलाई साथ दिँदैन, दिल्लीको नीति काठमाडौंलाई आफूमा लिने हो ।’

मधेसको अधिकारको कुरा गर्ने भारतले आफ्नै देशका बिहारी जनतालाई अधिकार नदिएको विप्लवले बताए । भारतले पहाडे र मधेसीका नाममा नेपाली जनतालाई फुटाउन चाहेको उनले आरोप लगाए । माओवादी नेता विप्लवले मधेसी र पहाडी अनि जनजाति र क्षेत्रीबाहुनका नाममा ‘दलाल राज्यसत्ता’ले नेपाली जनतालाई फुटाउन खोजेको आरोप लगाए । उनले मधेस, पहाड र हिमालका सबै जनताले एकतावद्ध भएर दलाल राज्यसत्ताविरुद्ध जनगणतन्त्र स्थापनाका लागि लाग्नुपर्ने बताए । ‘हामी जातीय क्षेत्रीय दंगामा पर्नुहुँदैन, मधेसी पहाडी जनता एक भएर दलाल राज्यसत्ता विरुद्ध लाग्नुपर्छ । सबैले राज्यसत्तामा अधिकार पाउनुपर्छ, जनतालाई आपसमा लडाउने धार्मिक दंगा एवं क्षेत्रीयता र जातीयतामा हामी फस्न हुँदैन । माओवादीको नीति पनि यही नै हो ।’

देशभरका विभिन्न जिल्लाबाट कार्यकर्ता भेला गरेर खुला मञ्चमा सभा गरेका विप्लवले प्रचण्ड र बाबुरामले पार्टी छोड्दैमा माओवादी नसकिने उल्लेख गरे ।