पोखरा, ६ बैशाख २०८१/
आफूहरुले न्याय पाउनेमा आशंका पैदा हुँदै गए पछि पोखराका सहकारी पिडितहरु संगठित भएर संघर्षको तयारीमा लागेका छन्। सोही क्रममा उनीहरुले बुधबार एउटा भेला आयोजना गरेर संयुक्त रूपमा आन्दोलन अगाडि बढाउन कास्की सहकारी बचतपीडित संघर्ष समिति गठन गरेका छन्।
कास्कीका ६ वटा सहकारीका पीडितको बुधबारको भेलाले गठन गरेको उक्त समितिमा सूर्यदर्शन सहकारीपीडित किरण श्रेष्ठको संयोजकत्वमा गठित समितिको उपाध्यक्षमा इमेज सहकारीपीडित हरिबहादुर खत्री, कोषाध्यक्षमा शिवशिखर सहकारीपीडित टेकराज तिमिल्सिना, सचिवमा मित्रमिलन सहकारीपीडित प्रकाश पौडेल र सहसचिवमा बलिदानी सहकारीपीडित धम पुन छन् । विन्ध्यवासिनी सहकारीका प्रतिनिधि पनि संघर्ष समितिमा छन् ।
सोही भेलाले एक साताभित्र पोखरामा सहकारीपीडितले बृहत् प्रदर्शन गर्ने निर्णय गरेको संघर्ष समितिका संयोजक श्रेष्ठले जानकारी दिए। जिल्ला अदालत कास्कीमा बचत अपचलन गर्ने ६ वटा सहकारीका मुद्दा विचाराधीन छन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ पोखरा आएकै बेला पीडितले समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । सहकारी ठगीमा मुछिएका गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई चैत २७ गते मन्त्रालयमै भेटेर पीडितले समस्या सुल्झाउन माग गरे पनि हालसम्म बेवास्ता भएको संयोजक श्रेष्ठले बताए ।
सहकारी ठगीका सबै अभियुक्तलाई तत्काल पक्राउ गर्नुपर्ने, निष्पक्ष छानबिन गर्नुपर्ने, पीडितका बचत रकम तत्काल फिर्ता गर्नुपर्नेलगायत माग संघर्ष समितिको छ । ‘माग पूरा नहुँदासम्म आन्दोलनमा जान्छौं,’ श्रेष्ठले भने ।
पोखरा–४ नालामुखस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका १८ हजार सात सय बचतकर्ताको एक अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना भएको छ । सहकारी ठगी मुद्दामा १९ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा चलाएकोमा पांच जना मात्रै पक्राउ परेका छन् । सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई, पूर्व सञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र आर्ईटी प्रमुख भवीश्वर अर्याल पूर्पक्षका लागि कास्की कारागारमा थुनामा छन् । त्यसबाहेक सहकारी ठगीका मुख्य आरोपी संस्थापक अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) हालसम्म फरार छन् । उनी ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्षसमेत हुन् ।
बागलुङमा विभिन्न शाखा भएको र पोखरामा उही नाममा छुट्टै स्थापना भएको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार छन् । ढोरपाटन नगरपालिका प्रमुख नेपाली संस्थापक रहेको सहकारीका शाखाबाट बचतकर्ताको १ अर्ब ९० करोड रुपैयाँ हिनामिना भएको छ । इमेजको पोखरा कार्यालयबाट ६४ करोड ८८ लाख ६० हजार रुपैयाँ हिनामिना भएको देखिएको छ । उक्त सहकारीको ठगीको आरोपमा १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि ६ जना मात्रै पक्राउ परेका छन् ।
देशैभर शाखा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको पोखराका दुई शाखाबाट ७ हजार १ सय ७० बचतकर्ताको ५४ करोड २३ लाख ८५ हजार रुपैयाँ हिनामिना भएको छ । पोखरा–९ नयाँबजारमा मुख्य कार्यालय रहेर विभिन्न स्थानीय तहमा शाखा कार्यालय रहेको मित्रमिलन बचत तथा ऋण सहकारीले बचतकर्ताको २६ करोड ८६ लाख रुपैयाँ हिनामिना गरेको छ ।
पोखरामै कार्यालय रहेको बलिदानी बचत तथा ऋण सहकारीका ६ हजार ३ सय ४५ बचतकर्ताको १० करोड ६९ लाख ३५ हजार रुपैयाँ हिनामिना भएको छ ।यी सहकारीका मुद्दा हाल कास्की अदालतमा विचाराधीन छन् । त्यसबाहेक गण्डकीमा पर्वतका ग्रामीण विकास कृषि सहकारी संस्था लिमिटेड र तपाईं हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लमजुङको कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुद्दासमेत सम्बन्धित जिल्ला अदालतमा विचाराधीन छन् ।
ग्रामीण विकासको ९ करोड, तपाईं हाम्रो बचतको २९ करोड ५८ लाख र कालिका बचतको ५ करोड रुपैयाँ सञ्चालक समितिबाट हिनामिना भएको छ ।