गोरखामा सफाई मजदुरहरु तीन महिनादेखि बिना तलब काम गर्न वाध्य

गोरखामा सफाई मजदुरहरु तीन महिनादेखि बिना तलब काम गर्न वाध्य


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० चैत्र २०८०
  • 4.5K
    Shares

कुचीकार

पोखरा, ३० चैत २०८०/

गोरखा नगरपालिकाभित्र कार्यरत सफाई मजदुरहरुले बिगत तीन महिनादेखि तलब सुबिधा नपाएको गुनासो गरेका छन्। तैपनि उनीहरुले का रुपमा काम गरिरहेका गोरखा बजारको सडक, चोक तथा खुल्ला क्षेत्रको फोहर बढार्ने तथा फोहर उठाउने कामहरुलाई भने निरन्तरता दिईरहेका छन।

गोरखा नगरपालिकाको फोहर व्यवस्थापन गरी नगर स्वच्छ, सफा र हराभरा राख्ने उद्देश्यसहित स्थापित क्लिन गोरखा नामक संस्थाले उनीहरुको खटनपटन तथा पारिश्रमिक दिने गरेको थियो । तर तीन महिनादेखि बिना पारिश्रमिक काम गर्न बाध्य भएको सफाई मजदुरहरुको गुनासो छ । क्लिन गोरखामा आवद्ध भएर सातजना कुचीकार, फोहर उठाउने सवारी चालक तथा सहयोगीहरु कार्यरत छन् । उनीहरुमध्य सबैले पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

‘दाम पाए पो काम गर्न नि जाँगर लाग्छ र’, नाम नखुलाइदिन अनुरोध गर्दै एकजना कुचीकार भन्छिन्, ‘तीन महिना भयो भोको पेटमा काम गरेको । दिने साँगा पनि देखेको छैन ।’ बिहान चारबजेदेखि सातबजेसम्म दुख गरेर बढारे पनि तलब नपाएको उनीहरुको गुनासो छ । ‘सँधै बिहान चारबजेदेखि सातबजेसम्म बजारमा बढारेर महिनामा जम्मा पाँच हजार पाउँथ्यौँ । त्यही पनि तीनमहिनादेखि पाएनौँ’, उनले भनिन् ।

लामो समयदेखि पारिश्रमिक नदिएपछि कामदारहरु सबैले काम छाडेका थिए । तर क्लिन गोरखाले पारिश्रमिक दिने भन्दै काममा बोलाएका अर्की कुचीकारले गुनासो गरिन् । ‘पैसा नदिए काम नगर्ने भनेर चैत लागेपछि काम रोकेका थियौँ । बजारमा फोहरको डंगुर थुप्रियो । छिट्टै पैसा दिन्छौँ काम गर्न आइदिनुप¥यो भनेर बोलाए’, नाम गोप्य राख्न अनुरोध गर्दै उनले भनिन्, ‘दुईहप्ता काम रोकेपछि फेरि काम गर्न त आइयो, तर पैसा दिएका छैनन् । दिने साँगा पनि देखेको छैन ।’ चैतभरिमा पारिश्रमिक नपाए बैशाख लागेपछि फेरि काममा नजाने उनले बताइन् ।

क्लिन गोरखाले काम सुरु गरेका बेला १४ जना कुचीकारहरु थिए । तर अहिले काम छाड्दै–छाड्दै सातजना मात्र बाँकी रहेका छन् । पर्याप्त कामदार नभएपछि अहिले बजारको फोहर उठ्ने समय तालिका पनि प्रभावित भएको छ । सेवाग्राहीहरुले फोहर उठाएबापतको शुल्क नतिरेकाले कर्मचारीलाई पारिश्रमिक दिन नसकिएको क्लिन गोरखाले जनाएको छ ।

‘घरवाला, डेरावाला, पसलवाला, सरकारी कार्यालयहरु पनि शुल्क दिँदैनन्’, क्लिन गोरखाका संस्थापक भगवानबाबु मास्के भन्छन्, ‘हाम्रो स्रोत भनेकै सेवाग्राहीहरुबाट उठेको शुल्क हो । शुल्क नउठे कामदारलाई कसरी पारिश्रमिक दिन सकिन्छ । सदस्यता रसिद काटेकाहरुले पनि धमाधम रद्ध गर्न थालेका छन् ।’ ६० लाख रुपैयाँ भन्दा धेरै रकम उठाउन बाँकी रहेको उनले बताए । ‘त्यति उठ्यो भने कर्मचारीलाई तलब दिन पनि सकिन्छ, नगरपालिकालाई कर तिर्न पनि सकिन्छ’, मास्के भन्छन्, ‘फोहर शुल्क दिन अटेर गर्नेहरुबाट शुल्क असुल गर्न नगरपालिकाले पनि मद्दत गर्नुप¥र्यो भनेर नगरपालिकासंग माग गरेका छौँ, तर नगरपालिकाले साथ दिएको छैन ।’

गोरखा नगरपालिकाले भने नगरपालिकालाई तिर्नुपर्ने ठूलो परिमाणको शुल्क पनि नतिरेको जनाएको छ । ‘कामदारलाई पनि पारिश्रमिक दिएको छैन भन्ने सुनेका छौँ । नगरपालिकालाई पनि ५० लाख भन्दा धेरै राजस्व तिर्न बाँकी नै छ’, नगरप्रमुख कृष्ण राना भन्छन्, ‘तिर्नुपर्ने राजस्व नतिर्ने अनि अनुदान दिनुप¥यो भनेर उहाँहरु माग गर्नुहुन्छ । त्यो कसरी हुनसक्छ ?’ शुल्क उठाउने, राजस्व तिर्ने, पारिश्रमिक दिने सबै क्लिन गोरखाको जिम्मेवारी भएकाले नगरपालिकालाई थप भार नपार्न उनले आग्रह गरे । daraundi.com

प्रतिक्रिया