चितवनका तीन सहकारीले बचतकर्ताको झन्डै एक अर्ब ४३ करोड रुपियाँभन्दा बढी रकम ठगी गरेर भागे

चितवनका तीन सहकारीले बचतकर्ताको झन्डै एक अर्ब ४३ करोड रुपियाँभन्दा बढी रकम ठगी गरेर भागे


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० चैत्र २०८०
  • 153.5K
    Shares

सहकारी संस्थामा चोरी

चितवन, ३० चैत २०८०/

चितवनका तीन वटा सहकारीका संचालकहरु बचतकर्ताको झन्डै एक अर्ब ४३ करोड रुपियाँभन्दा बढी रकम ठगी गरेर फरार भएका छन्। चितवनस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था, सनराईज बचत तथा ऋण सहकारी संस्था र साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका संचालकहरु करिब तीन हजार बचतकर्ताको झन्डै एक अर्ब ४३ करोड रुपियाँभन्दा बढी रकम ठगी गरेर फरार भएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, यी सहकारीमध्ये सबैभन्दा बढी शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले अहिलेसम्म एक हजार आठ सय ४२ जना बचतकर्ताबाट ६६ करोड चार लाख ७० हजार रुपैयाँ गठी गरेको देखिएको र उजुरी आउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिए।

सानो रकमका बचत कर्ताहरु उजुरी दिन नआएको प्रहरीको अनुमान छ। यस सहकारीका संस्थापक अध्यक्ष केदारनाथ शर्मा सहित १२ जना विरुद्ध उजुरी परेको छ। यसै क्रममा प्रहरीले “सहकारीको सफ्टवेयर” नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाउने तयारीमा लागेको बताइएको छ।

अहिलेसम्म प्रहरीले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हिसाब गरेर टुंगाएर सरकारी वकिल कार्यालयमा पेश गरेको छ। उजुरी परेका मध्ये संस्थापक अध्यक्ष शर्मा, निर्देशक गिता शर्मा, सदस्य पुस्कर मल्ल र अमिश राज भण्डारी पक्राउ परेका छन्। उनीहरु पूर्वपक्षका लागि थुनामा रहेको भण्डारीले जानकारी दिए।

शिव शिखर सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा छ। यो सहकारीले २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको थियो। यसले देशका विभिन्न सहरममा ३५ बढी शाखा स्थापना गरेर ठगी गर्दै आएको छ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक गितेन्द्रबहादुर राई (जिबी) बचतकर्ताको रकम हिनामिना गरी फरार भएका छन्। उनीमाथि बचतकर्ताको ८५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ।

सो सहकारीबाट राईसमेत संलग्न अर्को संस्थालाई ४४ करोड रुपैयाँ बिना धितो दिएको जिल्ला प्रहरी कार्यालय चितवनले प्राप्त गरेको विवरणमा उल्लेख छ। उनी स्वयंको नाममा समेत एक करोड ७३ लाख चार हजार ६९१ रुपैयाँ बिना धितो झिकेको देखिन्छ।

त्यस्तै राईसमेत संलग्न जिबी ग्रुप अफ कम्पनीले एक करोड ४० लाख, नेचर हर्ब इन्टरनेसनल कम्पनीले नौ करोड ३८ लाख ८३ हजार र नेचर वेस्ट कम्पनीले ५ करोड ३१ लाख रुपैयाँ सहकारीबाट लगेको देखिन्छ। यसअघि रवि लामिछाने आबद्ध गोरखा मिडिया नेटवर्कले पनि उक्त सहकारीबाट ११ करोड ९५ लाख ८० हजार रुपैयाँ बिना धितो ऋण लगेको देखिन्छ।

त्यस्तै रिपिङ उड रेड स्टेटले १० करोड २८ हजार रुपैयाँ ऋण लगेको छ। चितवनमा नारायणगढ, टाँडी, पर्सामा उक्त सहकारीका कार्यालय छन्।

पैसा डुबेपछि बचतकर्ताले २०७९ चैतमा संघर्ष समिति बनाएका थिए। संघर्ष समितिका संयोजक शालिकराम दुवाडी वडाध्यक्षदेखि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, गृहमन्त्रीलाई भेटेर अपिल गर्दासमेत बचतकर्ताले आफ्नो रकम पाउन नसकेको बताए।

उनका अनुसार साहाराले दिएको ४५ करोड रुपैयाँ ऋण उठ्न बाँकी छ। त्यसमध्ये ४१ करोड रुपैयाँ जिबि राईसमेत संलग्न कम्पनीले लगेको छ। बचतकर्ता संघर्ष समितिको अगुवाइमा वडा कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय चितवन, सहकारी विभाग, गृह मन्त्रालयमा पटकपटक पुगेका छन्।

अनुसन्धानका लागि सहकारी विभागले २०८० साउन २४ गते राष्ट्रिय अनुसन्धान कार्यालयलाई अनुसन्धान गर्न पत्र काटेको छ। साहारा सहकारीको पुँजी रोक्का राखेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काम गरिरहेको दुवाडीले जानकारी दिए।

चितवन प्रहरीमा अहिलेसम्म ४४ करोड रुपैयाँ हाराहारीमा रकम डुबेको भन्दै बचतकर्ताको निवेदन दिएका छन्। अहिलेसम्म यस सहकारीबाट पाँच सयबढी बचतकर्ताले निवेदन दिएका छन्।

यस सहकारीको रकम ठगी आरोपमा जिबि राईसहित १० जना विरुद्ध २०८० असोज ९ गते उजुरी परेको थियो। जिल्ला अदालत चितवनले गत असोज २९ गते जिबी राईसहित ११ जनाविरुद्ध पक्राउ गर्न आदेश दिइसकेको छ। जसमा सहकारीका सञ्चालक सदस्य, व्यवस्थापकसमेत छन्।

चितवनको चार स्थानमा कार्यालय राखेर कारोबार गर्दै आएको सनराइज बचत तथा ऋण सहकारी संस्थाका पनि करिब दुई वर्षदेखि फरार छ।

जिल्ला प्रहरी कार्यालय चितवनमा परेको उजुरी अनुसार, छ सय बढी बचतकर्ताको ३३ करोड रुपैयाँ बढी रकम हिनामिना गरेर सञ्चालकहरु फरार छन्। लायन्सचोक, विकासचोक, चनौली र पावर्तीपुरमा यसको शाखा थियो। अझै उजुरी आउने क्रम जारी रहेको प्रहरीले जानकारी दिएको छ।

यसका सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार रिमाल, उपाध्यक्ष सन्तोषी केसी, सचिव योगेन्द्र पाण्डे र कोषाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ। अध्यक्ष रिमाल र सचिव पाण्डे आइतबार नवलपरासीको कावोसोतीबााट पक्राउ परेका छन्।

उनीहरुलाई चितवन ल्याउने प्रयास भएको चितवन प्रहरीले जानकारी दिएको छ। उनीहरुलाई नवलपरासीको छिपछिपे सहकारीमा पनि रकम हिनामिना गरेको आरोप लागेको छ।

बाहिरबाट चितवन आएर सहकारी खोल्दै ठग्दै

चितवन देशको केन्द्रविन्दुमा पर्दछ। यहाँ बाहिरी जिल्लाबाट आएर सहकारी खोल्दै फरार हुने क्रम बढ्दो छ। यी तीन वटै सहकारीका सञ्चालक चितवन बाहिरका नै हुन्।

उनीहरुलाई बचतकर्ताको ठुलो रकम ठगी गरेको आरोप छ। सनराइज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रिमाल बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर-१२ का हुन् भने सचिव पाण्डे गुलरिया नगरपालिका-२ को रहेको चितवन प्रहरीले जानकारी दिएको छ।

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शर्मा बाँके स्थित उढरापुर-२ का स्थायी बासिन्दा हुन्। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डी।बि।राई ओखलढुंगाको सुनकोशी गाउँपालिका-३ र संस्थापक जिबि राई ओखलढुंगाको सुनकोशी गाउँपालिका-१ का हुन्।

प्रतिक्रिया