हिँसाको आगोमा तपाईं पेट्रोल हाल्नुहुन्छ कि पानी ?

हिँसाको आगोमा तपाईं पेट्रोल हाल्नुहुन्छ कि पानी ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ फाल्गुन २०७३
  • 20.5K
    Shares

राजकुमार रेग्मी

= नेपालमा हिंसा फैलाउन अनेक स्वदेशी विदेशी तत्व ज्यान फालेर लागेका छन् । यिनलाई ‘हिंसावादी साम्प्रदायिक खलक या बिरादरी’ भन्न सकिन्छ । भ्रम फैलाउने, भ्रमलाई नै सत्यका रुपमा स्थापित गर्न खोज्ने, सत्यलाई ढाकछोप गरेर असत्य फैलाउने, भ्रम र असत्यको आडमा उत्तेजना फैलाउने र देश जलाउने यिनको उद्देश्य प्रष्टै देखिन्छ । यस्ता खलपात्रहरु र तिनको प्रवृत्ति चिन्न जरुरी छ ।

= खलपात्रहरु नेता, बुद्धिजीवी, पत्रकार, अधिकारकर्मीको भेषमा छन् । ठूलाखाले खलपात्रहरुको अनुहार तपाईं हामीले चिनेका छौं, नाम लेखिरहन नपर्ला । खलपात्रहरुलाई सघाउन एनजीओ आइएनजीओ परिचालित छन्, फेसबुक–ट्विटरमा हजारौं आइडि परिचालित छन् । त्यस्ता आइडिबाट शान्ति र सदभावको पक्षमा लेख्नेलाई धम्की दिने, चरित्र हत्या गर्ने काम पनि गरिरहेछन् । उत्तेजक नक्कली फोटो बनाएर प्रचार गरिरहेछन् । सदभाव विथोल्न भ्रामक सामग्री पस्किरहेछन् । यस्ता उत्तेजक सामग्रीलाई विश्वाश नगरौं ।

= साम्प्रदायिक हिंसावादी खलकले ‘मधेसीलाई भारतीय भन्यो, मधेसीलाई बिहारी भन्यो’ भन्दै हुँदै नभएको हल्ला मच्चाइरहेछन् । खासगरी यिनले केपी ओलीले यस्ता कुरा बोले भन्दै भ्रम फैलाइरहेछन् । यिनको असली दुश्मन ओली होइनन्, ओलीलाई देखाएर भ्रम फैलाउन सजिलो हुने ठानेर ओलीले यसो भने र उसो भने भनेका मात्र हुन् । भोलि कांग्रेसले तराईमा अभियान चलायो भने यिनले देउवा या रामचन्द्रको नाममा पनि यस्तै भ्रम फैलाउने छन् ।

= अहिले एमालेलाई प्रहार गरेर भ्रम फैलाइयो भन्दैमा कांग्रेसजन दंग पर्नु कालिदास पाराको मूर्खता हो । आज यिनले ‘एमाले मुक्त मधेस’ भनिरहेछन्, भोलि ‘कांग्रेस मुक्त मधेस’ भन्नेछन्, पर्सी ‘नेपाल मुक्त मधेस’ भन्नेछन् । त्यसपछि ‘मधेसी मुक्त मधेस’ भन्नेछन् र तराईमा अंगीकृत र नवनागरिकको साम्राज्य चल्नेछ, असली रैथाने नेपाली मधेसी हेरेको हेर्यै हुनेछन् । यी खलपात्रहरु यही डिजाइनमा चलिरहेछन् ।

= जस्तो कि केही दिन अघि महान साम्प्रदायिक नेता डा. बाबुराम भट्टराईले लेखे– ‘एउटा समुदायलाई दानवीकरण गरेर अर्काे समुदायमा असुरक्षा पैदा गर्ने राजनीति…’ । मधेसी समुदायलाई दानवीकरण गरियो भनेर भ्रम फैलाउने यिनको कुनियत प्रष्ट भएन र ? कसले गर्यो दानवीकरण ? हुँदै नभएको कुरा उछाल्ने, भ्रमपूर्ण कुरा गरेर अरुलाई आरोप लगाउने र त्यो आरोपको आडमा उत्तेजना फैलाउने रणनीति बाबुरामको यो लेखाइबाट छर्लङग देखिँदैन र ? अचम्म त यो छ कि शान्ति र सदभावको पक्षमा तथा रैथाने मधेसी जनताको पक्षमा लेख्यो भने यिनले उल्टै ‘मधेस विरोधी–जनजाति विरोधी’ तथा ‘नश्लवादी’ भनेर कुप्रचार गर्छन् । ध्यान दिनुहोला– ‘नश्वलादी’ शब्द यिनले नेपालमा हालसालै आयात गरेका हुन्, यो शब्द फैलाउन हिंसावादीहरु अहोरात्र खटिरहेछन् ।

= देशहितको पक्षमा लेख्यो भने यिनले उग्र राष्ट्रवादी देख्छन्, जातीय कुरा लेख्यो भने यिनले ‘वाह, क्या लोकतन्त्रवादी, क्या अधिकारवादी’ भनेर फुरुङग पार्छन् । यस्ता केही ‘लोकतन्त्रवादी’लाई भारतीय राजदूतावासले आफ्नै आगनमा अभिनन्दन गरेको तमासा पनि हाम्ले देखिसकेका छौं ।

= हिंसावादीहरुले मधेसी मोर्चा तथा अन्य जातीय पार्टी तथा बाबुराम भट्टराईको साम्प्रदायिक अभियानलाई समर्थन गर्नेहरु मात्र मधेसी हुन्, अरु होइनन् भन्ने भ्रम फैलाइरहेछन् । मधेसी थारु जनजाति समुदायका अधिकांश मानिस कांग्रेस एमालेमा छन् तर उनीहरु मधेसी या जनजाति होइनन् रे ! शान्ति र सद्भावको कुरा गर्ने मधेसीलाई यिनले ‘मधेसी भएर मधेसीको विरोध गर्ने ?’ भन्दै फत्तुरको आरोप लगाउँछन् । मधेसी जनता मधेसी मोर्चाका केही नेताहरुका रैती होइनन्, ती जनताको आफ्नै स्वतन्त्र विचार छ भन्यो भने यिनले ‘सदभाव भाड्न खोज्यो’ भनेर आरोप लगाउँछन् ।

= यिनले ‘मधेसी र जनजातिले अधिकार पाएनन्’ भन्ने अफवाह फैलाएको फैलायै छन् । अफवाहको आगोमा विदेशी स्वार्थको रोटी सेक्ने यिनको दाउ हो भन्ने सबैले बुझ्न जरुरी छ ।

अब आफै विचार गर्नुहोस्– यिनले फैलाउन खोजेको हिंसाको आगोमा तपाईं पानी हाल्ने कि पेट्रोल ? आगे तपाईंहरुकै मर्जी !!

प्रतिक्रिया