पोखरा, १ फाक्गुन २०८० /
पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोट स्थित बाल प्रतिभा बोर्डिङ स्कुलका प्राचार्य आत्मबहादुर थापा जेल चलान भएका छन्। बिना लाईसेन्स स्कुल बस चलाउँदा आफ्नै स्कुलमा अध्ययनरत तीन वर्षीय विद्यार्थीको ज्यान गएको सवारी ज्यान सम्बन्धि मुद्दामा जिल्ला अदालत कास्कीले प्राचार्य थापालाई पुर्पक्षमा रहने गरी जेल चलान गर्न आदेश दिए पछि उनी कास्की जिल्ला कारागार चलान भएका हुन।
जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको सोमबारको इजलासले उक्त सवारी ज्यान सम्बन्धि मुद्दामा प्राचार्य थापालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएका थिए ।
प्राचार्य थापाले चलाएको ग१क ४०८२ नम्बरको स्कुल बसले किचेर यहीं माघ ५ गते पोखरा–२४ स्थित कास्कीकोट काउलेमा ३ वर्षीय बालक समिर कार्कीको मृत्यु भएको थियो । सोही विद्यालयको नर्सरीमा पढ्दै गरेका समिर बसबाट झरेर घरतर्फ जाँदैं गर्दा शुक्रबार दिउँसो पौने ३ बजेतिर स्कुल बसले किचेको थियो ।
बसबाट झरेर घरतिर जाँदै गरेका समीरलाई सोही बसले नैं ठक्कर दिएको थियो । समीरलाई घाइते अवस्थामा तत्कालैं मेट्रोसिटी अस्पताल ल्याईए पनि डाक्टरले दिउँसो ४ बजेतिर मृत घोषणा गरेका थिए ।
प्राचार्य थापा आफैंले बिना लाईसेन्स बस चलाएर विद्यार्थीको मृत्यु भएपछि उक्त घटनाबाट बच्नका लागि नक्कली ड्राईभर खडा गर्ने कोशिश गरेको तथ्य प्रहरी अनुसन्धानबाट देखिएको थियो।