पोखरा, ११ माघ २०८० /
दलित युवासँग प्रेममा रहेको भन्दै बारामा १५ वर्षिया किशोरीलाई उनकै बाबुले बिभत्स तरीकाले हत्या गरिदिएका छन्। बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेका हुन्।
महतोले गत साउन ११ मा मामाघर बस्दै आएकी छोरी कोशिलालाई पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुल नजिकै इमृतिया खोला किनारमा हत्या गरेर शव फालेको प्रहरीले बताएको छ।
साउन १३ गते कोशिलाको शरीर र टाउँको छुट्टा छुट्टै गरी ५० मिटरको दुरीमा फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। साउन १३ गते कौशिलाको शव फेला पारेपनि त्यसको पहिचान भने हुन सकेको थिएन। तर करिब साढे ५ महिनादेखि छोरी बेपत्ता रहेकोबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि सोधपुछ गर्दै जादा महतोले छोरीको हत्या गरेको स्वीकार गरेका डिएसपी कोमल शाहले जानकारी दिए। कोशिलाको शव पहिचान भएपछि बुबा महतोलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरिएको र विस्तृत जानकारी आउन बाँकी रहेको पनि शाहले बताए।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले त्रिवेणीका स्थानीयहरूबाट महतोले आफ्नै छोरीलाई बेपत्ता बनाएको जानकारी आएपछि त्यसको अनुसन्धान गर्दा छोरीको हत्यामा बुवाको संलग्नता रहेको खुलेको बताए।
पुस २० गते चार महिनादेखि छोरीलाई बेपत्ता बनाएको सूचना पाएपछि गाउँ र परिवारको २० जनाभन्दा बढीलाई व्यक्तिहरूसँग सोधपुछ गर्दा परिवारबाट नै बेपत्ता बनाइएकी किशोरीको हत्या गरेको र घटनालाई लुकाउन खोजिएको प्रहरी उपरिक्षक काफ्लेले बताए।
मृतक बालिका स्थनीय गंगा साह माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्दै गरेको र स्थानीय कृष्ण बैठासँग प्रेम सम्बन्ध रहेका कारणले उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो।
गाउँमा बैठासँगको सम्बन्धनको बारेमा हल्ला चलेपछि छोरीलाई पर्साको विश्रामपुरमा रहेको मामा घर पठाइएको पनि जवाफ महतोले दिएको प्रहरीले बताएको छ।
बैठा दलित समुदायको रहेको र ऊसँग कुनै सम्बन्ध नराख्न परिवारले पटकपटक कौशिलालाई दबाब दिँदै आएको तर, छोरीले बैठासँगको सम्बन्ध कायम राखेको बारे गाउँमा हल्ला चलेपछि बाध्य भएर छोरीको हत्या गर्नु परेको हरिन्द्रले स्विकारेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए।
प्रहरी प्रवक्ता न्यौपानेका अनुसार महतोले दुई जना सहयोगीसँग मिलेर छोरीलाई गाडीमा लगेर गाडीमै हत्या गरेको र शवलाई खोला किनारमा फालेका स्वीकारेका छन्।
बारा प्रहरीले प्रारम्भिक अनुसन्धान गरेर घटना पर्सामा भएकोले थप कारवाहीका लागि पक्राउ परेका महतोलाई पर्सा प्रहरीको जिम्मा लगाएको छ।