पोखरा, १० माघ २०८० /
सर्लाहीमा बोल्न नसक्ने युवतीलाई जबर्जस्ती करणी गरेको आरोप एक महिना अघि पक्राउ परेका तीन जना जेल चलान भएका छन्।
बागमती नगरपालिका-४ सुकुम्बासी बस्तीकी ३१ वर्षीया बोल्न नसक्ने युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका ३५ वर्षका हरि भनिने हिराबहादुर भुजेल, ४२ वर्षीय राम भनिने खेलेन्द्र परियार र २१ वर्षीय अनिल भनिने धनलाल बराइली सर्लाही जिल्ला अदालतको आदेश बमोजिम पुर्पक्षमा रहने गरी जेल चलान भएका इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए। अदालतको आदेशपछि उनीहरुलाई जिल्ला कारागार मलंगवा चलान गरिएको छ ।
उनीहरुले बोल्न नसक्ने ३१ वर्षकी अविवाहित युवतीलाई गएको पुस १० गते राति ११ बजे रक्सी खुवाएर मताएपछि नजिकैको रहरीबारीमा लगेर सामूहिक करणी गरेका अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।
करणीपछि फरार भएका उनीहरुलाई गोप्य सूचनाको आधारमा प्रहरीले घटनाको भोलीपल्ट गाउँबाटै पक्राउ गरेको थियो।