इमेज सहकारी ठगी प्रकरण : सम्पत्ति फिर्ता गर्न बागलुङमा बन्यो नयाँ सञ्चालक समिति, माघ १० गते पोखरामा पनि नयाँ कार्य समिति बनाइने

इमेज सहकारी ठगी प्रकरण : सम्पत्ति फिर्ता गर्न बागलुङमा बन्यो नयाँ सञ्चालक समिति, माघ १० गते पोखरामा पनि नयाँ कार्य समिति बनाइने


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ माघ २०८०
  • 5.9K
    Shares

इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको विशेष साधारण सभाबाट गठित नयाँ कार्य समिति

पोखरा, ७ माघ २०८० /

शेयर सदस्यको दुरुपयोग गर्वेर संस्थापक अध्यक्ष देव कुमार नेपालीले जोडेको धनसम्पत्ति सहकारीकै नाममा फिर्ता ल्याउने उद्देश्यका साथ् बागलुङको इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरुले नयाँ समिति बनाएका छन्। शनिबार बागलुङमा बिशेष साधारण सभा गरेर उनीहरुले कृष्ण बहादुर सार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति पनि गठन गरेका छन्।

उक्त सञ्चालक समितिको उपाध्यक्षमा बाल कुमारी केसी, सचिवमा सीता केसी, कोषाध्यक्षमा सरिता तिमिल्सिना कँडेल रहेका छन् भने सदस्यहरुमा गुप्त बहादुर खत्री, कृष्णा कार्की र अजिज उल मिया रहेका छन् ।

साधारण सभाले हरि बहादुर कार्कीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति पनि चयन गरेको छ । समितिको सदस्यमा कुल बहादुर राना र गोमा विश्वकर्मा रहेका छन्।

विशेष साधारणसभाले इमेज सहकारीको सम्पत्ति र दायित्वको एकिन गरि पीडित बचतकर्ताहरुको रकम फिर्ताका लागि पहल गर्ने निर्णय गरेको छ ।

साधारण सभा संस्थाका शेयर सदस्य बाल कुमारी केसीको अध्यक्षता, संघर्ष समितिका सदस्य शेखर खड्काको स्वागत र संघर्ष समितिका सचिव याम बहादुर पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

इमेज सहकारीका मुख्य जिम्मेवार व्यक्ति देवकुमार नेपाली फरार भएपछि बन्द रहेको संस्थालाई सुचारु गर्ने लक्ष्यका साथ विशेष सधारण सभा आयोजना गरिएको इमेज पीडित वचत पीडित संघर्ष समिति बागलुङका संयोजक डिल बहादुर कार्कीले बताए ।

इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले सहकारीको डेढ अर्ब भन्दा बढी रकम हिनामिना गरी गत जेठ ५ गतेदेखि सपरिवार बुर्तिबाङ बजारबाट बेपत्ता भएका छन् ।

फरार मेयर देवकुमारले मंसिर ५ गते फेसबुकमार्फत भिडियो र विज्ञप्ति जारी गर्दै आफ्नो सम्पत्ति बेचेर बचतकर्ताको हिसाब मिलान गर्ने बताएका थिए । तर, नेपालीको सम्पत्ति लिलाम गर्न बैंकहरुले प्रक्रिया अगाडि बढाएपछि बचतकर्ता र अन्य शेयरधनीले सो सम्पत्ति सहकारीको नाममा ल्याउन विशेष साधारण सभा बोलाएर ८ महिनादेखि बन्द सहकारीको कारोबार सञ्चालन गर्न खोजेका हुन् ।

बागलुङ बजारमा मुख्य कार्यालय र गलकोट तथा बुर्तिबाङमा सेवा केन्द्रका नाममा चलेको शाखाका सेयर सदस्य र बचतकर्ताले नयाँ सञ्चालक समिति गठन गरेको इमेज सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले जानकारी दिए ।

‘गण्डकीको सहकारी रजिस्ट्रार कार्यालयको अनुमति लिएरै विशेष साधारण सभा गरिएको हो । रजिस्ट्रारसँगै राखेर सम्बन्धित विभागीय मन्त्रीसँग पनि छलफल भएकै हो,’ संयोजक कार्कीले भने, ‘अब विशेष साधारण सभाको निर्णय, नयाँ सञ्चालक समितिसहित सहकारीलाई वैधानिकता दिन फेरि आवश्यक कागजातसहित रजिस्ट्रारको कार्यालयमा जान्छौं ।’

विशेष साधारण सभाले सञ्चालक समिति गठनसँगै सहकारीलाई वैधानिक रुपमा ब्यूँताएर पीडितको रकम फिर्ता गर्न समन्वय गर्ने निर्णय भएको अध्यक्ष कृष्णबहादुर सार्कीले जानकारी दिए ।

गण्डकी प्रदेश सहकारी ऐन २०७५ को दफा ४ मा संस्थाको सञ्चालक वा व्यवस्थापकबाट आफ्नो जिम्मेवारी पूरा नगरी संस्था सञ्चालनमा समस्या उन्पन्न भएको अवस्थामा दर्ता अधिकारीलाई जानकारी दिई साधारण सदस्यहरु मध्येबाट बहुमत सदस्य उपस्थित भई विशेष साधारणसभा गर्न सकिने व्यवस्था छ ।

गत मंसिर ४ गते इमेज सहकारी बागलुङका बचतकर्ता र शेयरधनीले विशेष साधारण सभा बोलाएर नयाँ कार्यसमिति गठन गर्ने र सहकारीको कारोबार सुरु गर्ने निर्णय गरेका थिए । त्यसैको भोलिपल्ट मंसिर ५ गते मेयर नेपालीले फेसबुकमा भिडियो सन्देश तथा विज्ञप्तिमार्फत आफ्नो र श्रीमतीको नाममा रहेको घरजग्गाबाट हिसाब मिलाउन तयार रहेको सार्वजनिक गरेका थिए ।

फेसबुकमार्फत फरार मेयर नेपालीले आफू र श्रीमतीको नाममा भएको ३ अर्बभन्दा बढी सम्पत्ति मालपोत कार्यालयमा गएर हस्तान्तरण गर्न तयार रहेको बताएका थिए ।

बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा रहेका ४५ कित्ताहरुमध्ये बुर्तिबाङ मा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरा मा ३ वटा घर, काठमाडौंमा ६ वटा घर गरी जम्मा १८ वटा घर मेयर नेपाली र श्रीमतीको नाममा रहेको उनले खुलाएका थिए ।

बागलुङमा तयारी भएपछि पोखरामा पनि पुस २२ गते बचतकर्ता तथा शेयरधनीको बैठक बसेर माघ १० गते पोखरामा पनि विशेष साधारण सभा गर्ने निर्णयसहित हस्ताक्षरसहित कार्यक्रम स्वीकृत गरिदिन पोखरा महानगरको सहकारी शाखामा निवेदन दिएका छन् ।

बागलुङ र पोखरामा रहेको इमेज सहकारीमा सवा दुई अर्ब डुबेपछि लामो समयदेखि आन्दोलनरत बचतकर्ता तथा शेयरधनीले सहकारी ब्युँताएर हिसाब मिलान गर्ने योजना अगाडि बढेका हुन् ।

सहकारीले लिएको ऋण उठाउन राष्ट्रिय सहकारी बैंक, गरिमा विकास बैंक र ग्लोबल आइएमई बैंकले सम्पति लिलामीको प्रक्रिया अगाडि बढाएपछि बचतकर्ताहरु संगठित भएका हुन् ।

इमेज सहकारीले राष्ट्रिय सहकारी बैंकबाट २५ करोड, गरिमा र ग्लोबल आईएमई बैंकबाट १० करोड गरी ३५ करोड रुपैयाँ ऋण लिएर नतिरेपछि बैंकहरुले सम्पत्ति लिलामीको प्रक्रिया अगाडि बढाएपछि बचतकर्ता संगठित भएर विशेष साधारण सभामार्फत संस्था पुनः सञ्चालन गर्न लागेका हुन् ।

बैंकहरुले ३५ करोड ऋण उठाउन २ अर्बको सम्पत्ति लिलामीमा राख्न खोजेपछि संस्थापक अध्यक्ष नेपालीका तर्फबाट वकिलले बचतकर्तालाई भेटेका थिए । त्यहीअनुसार ६ महिनाभित्र सबै सहकारीको हिसाब मिलाउने भन्दै बैंकहरुलाई पत्र नै लेखेर आग्रह गरिएको इमेज सहकारी पीडित मूल समितिका संयोजक कार्कीले बताए ।

बागलुङको इमेज सहकारी गण्डकी प्रदेश मातहत छ भने पोखराको सहकारी महानगर मातहत छ । मंसिर ४ गते विशेष साधारण सभा बोलाउने निर्णय गरेलगत्तै देवकुमारको तर्फबाट अधिवक्ता नानीबाबु बुढाथोकी बचतकर्तासँग सम्पर्क गरी छलफल गर्न पुगेका थिए ।

अधिवक्ता बुढाथोकीले नेपालीले आफ्नो सम्पत्तिबाट सबै हिसाब मिलान गर्न सहजीकरण गरिदिन आग्रह गरेको कार्कीले जानकारी दिए ।

बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यबाहक अध्यक्ष डोरबहादुर परियारसहित ५ जना पुर्पक्षका लागि थुनामा छन् । बागलुङ बजारमा मुख्य कार्यालय खोलेर बुर्तिवाङ, गलकोटमा सेवा कार्यालयका नाममा कारोबार गरेको इमेज सहकारीले १ अर्ब ३८ करोड र देवकुमारकै नेतृत्वमा इमेजकै नाममा पोखरामा छुट्टै दर्ता भएको सहकारीबाट ६० करोड रुपैयाँ हिनामिना भएको भन्दै अदालतमा बिगो दाबीसहित मुद्धा दर्ता गरिएको छ ।

प्रतिक्रिया