पोखरा, २ माघ २०८० /
मित्र मिलन सहकारीका लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी धरौंटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश वसन्तजंग थापाको इजलासले मंगलबार सात लाख धरौटीमा रिहा गर्न दिए पछि उनी उक्त धरौटी राखेर रिहा भएका हुन्।
सहकारी ऐन तथा विनिमय बमोजिम लेखा सुपरीवेक्षण समितिको काम कर्तव्य पालना नगर्ने तर वैठकमा उपस्थित भएर भत्ता वापतको रकम बुझिलिने जस्ता कार्य गरी सहकारीको सम्पत्ति हिनामिना गर्नमा साथ र सहयोग प्रदान गरेको आरोपमा प्रहरीले उनलाई पुस २५ गते बुधबार पोखरा–१३, कसेरी बौरीबोट घरबाट पक्राउ गरेको थियो । ५७ वर्षीय अधिकारी आर्वा विजय मावि पोखरा–१३, ढाँडवेसीका शिक्षक समेत हुन् ।
लेखा संयोजक अधिकारीलाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१)को खण्ड (घ५) बमोजिम अधिकतम सजायको माग दावी गर्दै सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेको थियो ।
मित्र मिलन सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म सात जनामात्र पक्राउ परेका थिए । जसमध्ये ६ जना यसअघि पुर्पक्षका लागि कारागार चलान भईसकेका छन्।
सहकारीका तीन हजार चार सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार छ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ विगो माग दावी गर्दै मुद्दा दायर गरिएको थियो ।