पोखरा, २३ पुष २०८०/
सहकारी ठगी अभियोगमा जिल्ला अदालत कास्कीले मित्रमिलन सहकारी संस्थाका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
चेक अनादर मुद्दामा कास्की कारागारमै रहेका उनीहरुलाई जिल्ला अदालत कास्कीले सहकारी ठगी अभियोगमा पनि पुर्पक्षमा रहने गरी कास्की कारागार पठाएको हो।
पोखरा नयाँबजारमा प्रधान कार्यालय रहेको मित्रमिलन सहकारी ठगी प्रकरणमा झण्डै ३१ करोड रकम बिगो माग दाबी र कैद सजायका लागि जाहेरी परेको थियो ।
सहकारी शाखा बिस्तारबारे घूस प्रकरणमा पूर्व रजिष्ट्रार एवं कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
मित्रमिलन सहकारी ठगी अभियोगमा ३३ जना प्रतिवादीविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ । प्रतिवेदनमा ३ हजार ४ सय ४६ जना पीडितको ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो । अझै २७ जना फरार छन् ।