लमजुङको कालिका सहकारीका अध्यक्ष घिमिरे काठमाण्डौबाट पक्राउ, पर्वतस्थित ग्रामीण विकास कृषि सहकारीका छ जना जेल चलान

लमजुङको कालिका सहकारीका अध्यक्ष घिमिरे काठमाण्डौबाट पक्राउ, पर्वतस्थित ग्रामीण विकास कृषि सहकारीका छ जना जेल चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २३ पुष २०८०
  • 5.4K
    Shares

कालिका सहकारीका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे

पोखरा, २३ पुष २०८०/

बचतकर्ताको रकम ठगी गरेको आरोप लागेका पर्वतका छ जना कारागार चलान भएकै दिन सोही आरोप लागेका लमजुङ सदरमुकाम बेशीशहरस्थित एक सहकारीका अध्यक्ष पक्राउ परेका छन्

जिल्ला अदालत पर्वतको आदेश बमोजिम आइतबार पर्वतको सदरमुकाम कुश्मा बजारमा सञ्चालित ग्रामीण विकास कृषि सहकारी संस्थाका ५ जना सञ्चालकसहित ६ जना पुर्पक्षमा रहने गरी पर्वत जिल्ला कारागार चलान भएका छन् भने जिल्ला अदालत लमजुङले फरार सुचीमा राखेर पक्राउ पुर्जी जारी गरेका लमजुङ बेंसीसहरको शेरास्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड (कालिका साकोस) संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरेलाई प्रहरीले काठमाडौंको धापासीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको छ।

कालिका साकोसका संस्थापक अध्यक्ष घिमिरेविरुद्ध जिल्ला अदालतमा सहकारी कसुर ऐन र ठगी गरी २ वटा मुद्दा चलिरहेको छ । अर्का मुख्य दोषी ठानिएकि उनकी श्रीमती विनिता अधिकारी घिमिरे भने अझै फरार छिन् । फरार बिनिता कालिका सहकारीको संस्थापक प्रबन्धक र एकीकरणपछिको कोषाध्यक्ष समेत रहेको बताइएको छ ।

अब उक्त सहकारी ठगी प्रकरणमा अझै २५ जना फरार सूचिमा छन् ।

ठगी आरोपमा सञ्चालक सहित छ जना कारागार चलान

यसैबीच प्राप्त अर्को जानकारी अनुसार, बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा रहेका पर्वत कुश्मा बजारमा सञ्चालित ग्रामीण विकास कृषि सहकारी संस्थाका ५ जना सञ्चालकसहित ६ जनालाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेको छ । आइतबार पर्वत जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले प्रहरीको हिरासतमा रहेका सवै सञ्चालकलाई थुनामा पठाउने आदेश जारी गरेको हो ।

बागलुङ जिल्ला जैमिनी नगरपालिका १ घर भएकी लक्ष्मीदेवी शर्मा समेत सहकारीबाट पिडित ६० जना बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिई सहकारीका अध्यक्ष लेखनाथ शर्मासहित ६ जनालाई मंसिर १३ गते नियन्त्रणमा लिई हिरासत कक्षमा राखेर अनुसन्धान अघि बढाइरहेको थियो ।

प्रहरीले हिरासतबाटै सहकारी सञ्चालकहरुलाई सहकारी विज्ञकै उपस्थितिमा अनुसन्धान गरी पुस ८ गते पर्वत जिल्ला अदालतमा पेश गरेको थियो ।

आइतबार अदालतले उक्त सहकारीका अध्यक्ष लेखनाथ शर्मासहित नियन्त्रणमा रहेका शालिग्राम पाध्या, विष्णुप्रसाद तिवारी, धनपति आचार्य, राजु शर्मा र सफ्वेयर डिजाइनर प्रतिमान पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

प्रतिमान पौडेल एक साता अघि तपाई हाम्रो सहकारीको ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भइसकेका थिए भने अन्य ५ जनालाई आज पठाएको अदालतका श्रेष्तेदार राजु ढुंगानाले जानकारी दिनुभयो ।

यी बाहेक अन्य १४ जना अझै फरार रहेका छन् । फरार रहेका सञ्चालकहरुलाई पक्राउ पुर्जी जारी गरी कानुनी कार्बाहीको दायरामा ल्याइने ढुंगानाले बताउनुभयो ।

ग्रामीण विकास कृषि सहकारीका सञ्चालक मध्ये रमेश पौडेल, प्रल्हाद गिरी, रामु शर्मा, अगन्धर तिवारी, विष्णुकुमारी श्रेष्ठ, सावित्री नेपाली, संगिता शर्मा पौडेल, दुर्गाप्रसाद शर्मा, सुर्यप्रसाद शर्मा, रामप्रसाद पौडेल, दिपक लामिछाने, रुविना पौडेल, दिनानाथ शर्मा र प्रभा खड्का फरार रहेका छन् ।

अदालत श्रोतका अनुसार पिडितको उजुरीका आधारमा ९ करोड १५ लाख भन्दा बढी रकम ठगी गरेको आरोप छ ।

यस अघि अदालतको आदेशले तपाई हाम्रो बहुउद्देश्यीय सहकारीका सचिव विकास विश्वकर्मा र सहकारीका सफ्टवर्यर डिजाइनर प्रतिमान पौडेललाई पुर्पक्षका लागि थुनामा राख्ने र सहकारीका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय र सहसचिव ओमकार कर्माचार्यलाई जनही ३० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।।

प्रतिक्रिया