रत्नराज्यलक्ष्मी क्याम्पस (आर.आर.)मा सत्तारुढ पार्टीका विद्यार्थी भतृ संगठनले आन्दोलन गरिरहदा प्रतिपक्षी पार्टीका विद्यार्थी भातृ संगठनले भने स्ववियु चुनावका लागि मनोनयन दर्ता गराए । तर, उक्त क्याम्पसका निर्वाचन अधिकृत प्रा.डा. हरिप्रसाद पराजुली सम्पर्क विहिन भएका छन् । उनको फोन अहिले स्विज अफ रहेको छ । उनी अपहरणमा परेको हुन सक्ने अखिल (क्रान्तिकारी)का एक नेताले जानकारी दिए ।
आर.आर. क्याम्पसमा आगामी फागुन २३ गते स्ववियु चुनाव गर्ने मिति तोकिएको छ । शुक्रवार मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकोमा निर्वाचन अधिकृत एकाएक सम्पर्क विहिन भएका हुन् । आर.आर. क्याम्पसमा अखिल (क्रान्तिकारी)—प्रचण्ड र नेविसंघले २३ गतेको चुनावमा सहभागि हुन अस्विकार गरेपछि क्याम्पसमा प्रहरीसँग झडप समेत भएको थियो ।
उक्त झडपमा परी क्रान्तिकारीका काठमाडौँ जिल्ला इन्चार्ज अर्जुन थापा, नेविसंघका केन्द्रीय सदस्य डम्वरराज जोशी, आर. आर. क्याम्पसमा इकाई उपाध्यक्ष पुष्कर बास्तोला, विद्यार्थीद्धय कमल जोशी र सुजन वञ्जरा घाइते भएका थिए । प्रहरीले मनोनयन दर्ता गर्नका लागि उमेद्वारहरुलाई क्याम्पस भित्र प्रवेश गराएको थियो भने अन्यलाई गेट वाहिर नै रोक लगाएको थियो । क्याम्पसले अर्को निर्वाचन अधिकृत प्रा. डा. ढाकाराम सापकोटालाई चयन गरेर प्रकृया अगाडी वढाएको अखिल (क्रान्तिकारी)—विप्लवका चुनावी कमाण्डर अनुशिल न्यौपानेले जानकारी दिए ।
पत्रकारलाई रोक
आर.आर.क्याम्पसमा अखिल (क्रान्तिकारी) र नेविसंघले तालाबन्दी गरेको थियो । २३ गते गर्ने भनिएको चुनाव रोक्नुपर्ने भन्दै उनीहरुले क्याम्पस प्रमुख र निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका थिए । क्याम्पसको गेट वाहिर व्यापक मात्रामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरेको थियो । क्याम्पस भित्रको सूचना संकलन गर्नका लागि सञ्चारकर्मी प्रबेश गर्न खोज्दा प्रहरीका डिएसपी मनोहर भट्टले क्याम्पस प्रमुख निर्मलाकुमारी सुवालले प्रवेश गर्न नदिनु भन्ने आदेश दिएका कारण रोक लगाएको जानकारी दिए ।
क्रान्तिकारी र नेविसंघले लगाएको ताला डिएसपी भट्टको नेतृत्वमा गएको प्रहरीको टोलीले तोडेर प्रकृया अगाडी बढाएको थियो । आन्दोलनरत विद्यार्थीहरुले क्याम्पसभित्र पढ्ने विद्यार्थीहरुलाई प्रवेशमा रोक लगाएको, व्यापक मात्रामा प्रहरी परिचालन गरेर क्याम्पसलाई व्यारेक बनाएको भन्दै आक्रोशित भएका थिए । ‘चुनाव हो की संकटकाल ?, विद्यार्थीको भयो बेहाल’ भन्ने प्ले कार्ड बोकेर विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।
मनोनयन दर्ता क—कसले गरे
तनावकाबीच पनि आर.आर. क्याम्पसमा मनोनयन दर्ता भएको छ । अनेरास्ववियुले अध्यक्षमा तपेन्द्रजंग शाही, सचिवमा नारायण शर्मा र कोषाध्यक्षमा संगम देवकोटासहितको प्यानल खडा गरेको छ । त्यस्तै, संघीय समाजवादी विद्यार्थी फोरम नेपाल, अखिल(क्रान्तिकारी) वैद्य, अखिल(क्रान्तिकारी) विप्लव र अखिल (छैठौँ)ले संयुक्त प्यानल वनाएर चुनवमा प्रतिस्पर्धा गर्ने भएको छ । उक्त प्यानलबाट अध्यक्षमा फोरमका तर्फबाट झिलकुमार राई र कोषाध्यक्षमा संन्दीप लिम्बू र सचिवमा वैद्य क्रान्तिकारीका तर्फबाट विपिन अधिकारी रहेका छन् । विप्लव क्रान्तिकारी र अखिल (छैठौँ)लाई केही प्रत्यक्षमा सदस्य र समानुपातिक कोटामा राख्ने निर्णय भएको अधिकारीले जानकारी दिए । त्यसैगरी, नयाँ शक्ति विद्यार्थी युनियनले पनि मनोनयन दर्ता गरेको छ । नयाँ शक्तिका तर्फबाट अध्यक्षमा अरविन्द्र भट्टराई, सचिवमा अनिश पन्त र कोषाध्यक्षमा रेशम खतिवडा रहेका छन् ।
अखिल(क्रान्तिकारी)—प्रचण्डले पनि मनाेनयन दर्ता गरेका थियाे
अखिल(क्रान्तिकारी)—प्रचण्डले भने द्धैध चरित्र देखाएको छ । विहिवार अध्यक्षका प्रत्याशी ध्रुवराज वाग्लेले निर्वाचन समितिमा पुगेर उमेद्वारको नाम दर्ता गराएका थिए ।