राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ६ उपाध्यक्षसहित २७ पार्टी पदाधिकारीको मनोनयन गरेका छन्। मनोनयनमा पाँच महामन्त्री, चार सहमहामन्त्री, ६ सहायक महामन्त्री, तीन प्रवक्ता, एक सहप्रवक्ता, कोषाध्यक्ष एक र सहकोषध्यक्ष एक गरी २७ पदाधिकारीको मनोनयन गरेका हुन्।
६ उपाध्यक्षमा दीपक बोहोरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे र रामचन्द्र राय मनोनित भएका छन्।
महामन्त्रीमा भने सूर्यबहादुर थापाका छोरा एवम् पूर्वमन्त्री सुनिलबहादुर थापा, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा जयन्त चन्द, ध्रुवबहादुर प्रधान, राजेन्द्र लिङ्देन र धवलशम्शेर राणा मनोनित भएका छन्। सहमहामन्त्रीमा मने चद्रबहादुर गुरुङ, हेमजंग गुरुङ, निलकण्ठ काफ्ले र राम थापा मनोनित भएका छन्। सँगै सहायक महामन्त्रीमा कुन्ती शाही, मनोज प्रधान, वृजलाल यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, बिन्दु पहाडी र राजाराम बर्तौला मनोनित भएका छन्।
त्यसैगरी तीन प्रवक्तामा रोशन कार्की, भुवन पाठक र सुशील श्रेष्ठ मनोनित भएका छन् भने सहायक प्रवक्तामा मोहन श्रेष्ठ मनोनयनमा परेका छन्। पार्टी कोषाध्यक्षमा भने उद्धव पौडेल र सहायक कोषध्यक्षमा गिरीधर परियार मनोनित भएका छन्।
आगामी चुनावमा नेकपा एमाले र नेपाली कांग्रेससँग प्रतिस्पर्धा गर्ने रणनीतिमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमालेले जस्तै मेची-महाकाली अभियानको घोषणा गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकले आगामी चैत ८ देखि १२ गतेसम्म मेचीकाली राष्ट्रिय एकता यात्रा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए ।
चैत ७ गते एकै दिन झापा, महेन्द्रनगर, काठमाडौं र गोरखा गरी चार टाउँबाट एकता यात्रा सुरु हुने बर्तौलाले बताए । उक्त अभियान चैत १२ गते चितवनमा आइपुगेर टुंगिने राप्रपाको निर्णय छ । साथै केन्द्रीय समितिको बैठकले स्थानीय चुनावको तयारीमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।
चुनाव चिन्ह गाई नै रहने
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकले चुनाव चिन्हबारे टुंगो लगाउँदै हलोको साटो गाईलाई नै रोजेको छ । बहुमत केन्द्रीय सदस्यको चाहना अनुसार राप्रपाको चुनाव चिन्ह गाई रहने भएको बर्तौलाले बताए । यसअघि चुनाव चिन्ह हलो राख्ने कि गाई भन्नेबारे केही नेताहरुको फरक मत देखिएको थियो ।
लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरुले हलोको पक्षमा लविङ गरे पनि बहुमत केन्द्रीय सदस्य गाईको पक्षमा उभिएपछि चुनाव चिन्हबारे निर्णय लिइएको केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए । गत मंसिरमा पार्टी एकता हुनुअघि हलो राप्रपाको र गाई राप्रपा नेपालको चुनाव चिन्ह थियो ।