फागुन २३ मा स्ववियु चुनाव हुने गरी क्याम्पस प्रशासनले नयाँ मिति घोषणा गरेपछि काठमाडौंको प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पस शुक्रबार विहानैदेखि तनावग्रस्त छ । नेविसंघ र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विरोधका उत्रेपछि तनाव सिर्जना भएको हो ।
विद्यार्थीहरु नाराबाजी गर्दै विरोधमा उत्रेपछि विद्यार्थी प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीको लाठीचार्जबाट नेविसंघका केन्द्रिय सदस्य डम्बरराज जोशी, अखिल क्रान्तिकारीका काठमाडौं ईन्चार्ज अर्जुन थापा, आरआर नेविसंघका विद्यार्थी नेता पुष्कर बास्तोला, आन्दोलनरत विद्यार्थी कमल जोशी र सुजन बञ्जारा घाईते भएका छन् । घाईते अर्जुन थापाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
२३ गते हुने स्ववियु चुनावका लागि बिहिबारबाट सो क्याम्पसमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको थियो । जसमा नेविसंघ बाहेकका अन्य विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका थिए । तर, मनोनयन दर्ता गरेको माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नै शुक्रबार क्याम्पसमा तालाबन्दी गरेको थियो । क्रान्तिकारीले लगाएको ताला प्रहरी प्रशासनले डिएसपी मनोहर भट्टको नेतृत्वमा तालाबन्दी तोडेको छ ।
क्याम्पस प्रशासनले केही विद्यार्थी संगठनको आडमा नयाँ मिति घोषणा गरेको आफुहरुलाई मान्य नहुने अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष गंगाराम तिमल्सिनाले बताए ।
त्रिविले तोकेको समयमा स्ववियु चुनाव हुन नसकेका सबै क्याम्पसमा चुनाव हुनुपर्ने हुनुपर्ने माग गर्दै नेविसंघ र क्रान्तिकारीको माग नाराबाजीसहित आन्दोलनमा उत्रेका छन् । तर, क्याम्पस प्रशासनले प्रहरी प्रशासनको सुरक्षामा मनोनयन दर्ता जारी राखेको छ ।
२३ गतेको स्ववियु चुनावमा सहभागि नहुने भन्दै अखिल (क्रान्तिकारी)—प्रचण्ड र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले संयुक्त रुपमा गरेको आन्दोलन झडपमा परिणत भएको हो । प्रहरीको वाक्लो उपस्थितिमा मनोनयन दर्ता भएपछि आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । उक्त झडपमा प्रहरीको लाठीचार्जबाट स्नातक प्रथम वर्षमा अध्ययनरत कमल जोशीको टाउकामा चोट लागेको छ । उनी अस्पतालमा उपचार गरेपछि पुनः ‘चुनाव हो की संकटकाल, विद्यार्थीको भयो बेहाल’ भन्ने प्ले कार्ड बोकेर आन्दोलनमा उत्रिए ।