विप्वलले गरें स्थानीय निकायको चुनाव बिथोल्ने घोषणा

विप्वलले गरें स्थानीय निकायको चुनाव बिथोल्ने घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २० फाल्गुन २०७३
  • 29.4K
    Shares

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनाव बिथोल्ने घोषणा गरेको छ । अहिले घोषणा गरेको स्थानीय चुनावलाई २० वर्षअगाडि नै प्रचण्डकै नेतृत्वमा ध्वस्त पारिएको भन्दै विप्लवले चुनावलाई आफ्नो पार्टीले मान्यता नदिने बताएका हुन् ।

पार्टीको आठौँ महाधिवेशनले लिएका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपा महासचिव विप्लवले पुरानै चुनाव बोकेर आउने प्रचण्डलाई पुरानै तरिकाबाट जवाफ फर्काउने चेतावनी दिए । ‘२०-२२ वर्षपछाडि त्यही चुनाव बोकेर प्रचण्डजी आएपछि हामीले त्यसलाई कसरी बुझ्ने ? पुरानै चुनाव बोकेर आउने प्रचण्डजीसँग त्यस्तै हुन्छ,’ विप्लवले भने, ‘यही चुनावलाई ०५४ सालमा फिर्ता गर्‍यौँ, ०५६ मा ध्वस्त बनायौँ, ०६१ मा पनि ध्वस्त बनायौँ ।’

उनले सरकारले ३१ वैशाखामा घोषणा गरेको चुनावलाई सिद्धिएको व्यवस्थालाई पुनर्जीवित गराउने कोरा कल्पना मात्र भएको टिप्पणी गरे । ‘सिद्धिएको व्यवस्थालाई अथवा मुर्दालाई आर्यघाटबाट ल्याएर राखेर हुन्छ ?’ विप्लवले थपे, ‘यो प्रतिस्पर्धा हो, उहाँहरूले आफ्नो तरिकाबाट त्यसको तयारी गर्नुहोला, हामी आफ्नो तरिकाले त्यसलाई ध्वस्त बनाउनेछौँ ।’ यद्यपि, उनले आफूहरू चुनावको विरोधी भने नभएको पनि प्रस्ट्याए । ‘हामी चुनावविरोधी होइनौँ, जनयुद्धका क्रममै पनि आधार इलाकाहरूमा जनप्रतिनिधिहरूको चुनाव गरेर दुई सत्ताको अभ्यास गरेका थियौँ,’ विप्लवको भनाइ थियो ।

जनयुद्धकालीन संरचना ठीक
विप्लवले आफ्नो पार्टी संघीयताको विरोधी नभएको पनि बताए । पुरानै सत्ताको चरित्रमा संघीयता मात्र थप गरेर त्यसले उत्पीडित जाति, क्षेत्र र लिंगका जनताको हितमा कुनै काम नहुने उनको दाबी छ । ‘रक्सी पुरानै, तर बोतल मात्र नयाँ भनेजस्तो मात्र हो यो अहिले दलहरूले भनिरहेको संघीयता,’ विप्लवले भने, ‘सत्ता दलाल पुँजीपति चरित्रको हुने र त्यसमा संघीयता मात्र थप गरेर उत्पीडनको अन्त्य हुन्छ भन्ने सत्य होइन ।’ राज्यको संरचना माओवादीले जनयुद्धका क्रममा अवलम्बन गरेको स्वायत्त प्रदेश निर्माणअनुसारकै सही रहेको उनको भनाइ थियो ।

पार्टी नाम फेरियो,विप्लव बने महासचिव
आठौँ महाधिवशेनले नेकपा(माओवादी) बाट पार्टीको नाम फेरेको छ । उसले नेपाल कम्युनिस्ट पार्टी मात्र नाम राखेको छ । विप्लवलाई महासचिवमा चयन गर्दै ८१ सदस्यीय केन्द्र्रीय समिति गठन गरेको छ ।

महाधिवेशनले जनसत्तालाई देशभर सुदृढ पार्ने, वैदेशिक रोजगारी नाममा नेपाली युवा–युवतीलाई विदेशमा तस्कर गरिरहेकाविरुद्ध संघर्ष गर्ने, दलाल, तस्कर, भ्रष्टाचारीहरुमाथि सख्त कारवाही, देशलाई पराधीन बनाउने भारतसँगका १९५० लगायत सन्धि खारेज गर्नुपर्नेलगायत समसायिमक विषयमा ११ बुँदे प्रस्ताव पारित गरेको थियो ।

यस्तै आत्मनिर्णयको अधिकार स्वाधीन राष्ट्रहरुले प्रयोग गर्न सधैं खुला रहने र भारत साम्राज्यवादी शक्ति नै भएको उनले ठोकुवा गरे । संसदीय व्यवस्थाले दलाल–पुँजीवादको विकासबाहेक केही गर्न नसक्ने भन्दै उनले वैज्ञानिक समाजवादी सत्ता स्थापनामा लाग्न सर्वसाधारणमा आग्रह गरे । वैज्ञानिक समाजवादी सत्ताले नीजि स्वतन्त्रताको ग्यारेन्टीसहित स्वास्थ्य, शिक्षा निशुल्क तथा क्षमता अनुसार काम, आवश्यकता अनुसार दाम दिने व्यवस्था सुनिश्चत गरिने बताए ।
आफनो पार्टीको नेतृत्वमा शासन व्यवस्था आएमा आठ–दस वर्षमा उथलपुथलकारी परिवर्तन ल्याई नागरिकको जीवन समृद्ध हुने बताए । संसदीय व्यवस्थाले देशलाई द्वन्द्व, अस्थिर तथा अराजकतामा लैजाने उनको भनाई छ ।
सबै दलाल पूँजीवाद जनतालाई ओरोलोतर्फ डोहो¥याउने रोग भएको बताउँदै देशभक्त र राष्ट्रवादीहरु महाधिवेशनबाट पारित एकीकृत जनक्रान्तिको कार्यदिशामा एकतावद्ध भई त्यसिविरुद्ध लड्नुको विकल्प नरहेको उनले बताए ।
विप्लवले पार्टीका नेताहरुको नीजि जीवनको अन्त्य हुनुपर्ने बताएका छन् । पार्टीले ईमान्दार कार्यकर्तालाई पुरस्कृत गर्ने, जिन्दगीभर आन्दोलनमा भाग लिने नेता कार्यकर्तालाई भरणपोषणको ग्यारेन्टी गर्ने तथा देशभर सहिद पार्क निर्माण गर्ने पनि उद्घाेष गरे ।
महाधिवेशनले भारत, पेरुका शासकले बन्दी बनाइएका त्यहाँका कम्युनिष्ट पार्टीका सयौं क्रान्तिकारी नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न समेत माग गरेको छ । महाधिवेशन गत फागुन १ गते काठमाडौंमा उद्घाटन भई फागुन ५ देखि १० गतेसम्म रोल्पाको थबाङमा बन्दसत्र सम्पन्न भएको थियो ।

प्रतिक्रिया