बैतडीको सीमावर्ती बजार झुलाघाटमा बाख्रा चराउन गएका बाबु-छोरा महाकाली नदीमा बगेर बेपत्ता भएका छन्।
शुक्रवार दिउसो बाख्रा चराउन महाकाली नदी किनारको मशान घाटमाथिको पहाडमा गएका भारत, पिथौरागढ जिल्ला अन्तर्गत झुलाघाट बजारका ४४ वर्षीय सन्तोष चन्द र उनका ६ वर्षीय छोरा तनुज बेपत्ता भएका हुन।
चन्द आफ्नी पत्नी लीलावती र छोराका साथमा बाख्रा चराउन गएको प्रहरीले जनाएको छ। अचानक पहाडबाट खसेको ढुंगाको चपेटमा आएर बुवा, छोरा महाकाली नदीमा खसेका थिए। लिलावती २ सय मिटर टाढा घाँस काटिरहेकी थिइन्।
श्रीमान र छोराको चित्कार सुनेर उनी महाकाली नदी किनारमा पुग्दा दुबै जना नदीको तीव्र बहावमा समाहित भइसकेका थिए। नदीमा नुहाइरहेका युवाहरुले घटनाको सूचना झूलाघाट प्रहरी थानालाई दिएका थिए। प्रहरी खोजिमा जुटेपनि बुवा, छोराको अवस्था पत्ता लाग्न नसकेको झुलाघाट थानाका सब इन्सपेक्टर अर्जुन सिंह राणाले बताए।
काली नदी किनारका कानडी, बलतडी, सपतडी र पंचेश्वरसम्मका क्षेत्रमा घटनाको जानकारी गराएर खोजि कार्य भइरहेको राणाले जानकारी दिए।