आफ्नो बहिनीसँग प्रेम बिबाह गरेका ‘दलित’ युवाको घरमा आगजनी

आफ्नो बहिनीसँग प्रेम बिबाह गरेका ‘दलित’ युवाको घरमा आगजनी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ असार २०८०
  • 2.5K
    Shares

‘दलित’ले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको भन्दै कथित उपल्लो जातका एक युवाले जुम्लामा एक दलित युवाको घरमा आगजनी गरिदिएका छन्। तातोपानी–४ गिडीखोलामा २१ वर्षीय मुकुन्द नेपालीको घरमा आगजनी गरेको आरोपमा आइतबार स्थानीय २१ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।

गत साता तातोपानी–४ गिडीखोला निवासी नेपाली थरका एक युवाले स्थानीय किशोरीसँग प्रेमबिहे गरेका थिए । स्थानीयका अनुसार ती दुवै जनाले २ वर्षको प्रेमपछि अन्तरजातीय ‘विवाह’ गरेका हुन् । यद्यपि आफन्तले किशोरी १६ वर्षको मात्र भएको बताएका छन् । बिहे अवैध भए कानुनअनुसार हुनुपर्नेमा घर नै जलाइदिएकोमा कारबाही गरिने प्रहरीको भनाइ छ ।

मुकुन्दका दाजु भरत नेपालीका अनुसार बिहान ४ बजेतिर भएको आगजनीमा घर र त्यसभित्र रहेका सामान नष्ट भएका छन् । गिडीखोला बस्तीको बीचमा रहेको भरतको घरमा धूवाँको मुस्लो देखिएपछि गाउँलेले निभाउने प्रयास गरेका थिए ।

आगलागीको खबर आएपछि १५ मिनेट दूरीको हाँकु चौकीबाट असई राजेन्द्र गिरी नेतृत्वको टोली घटनास्थल पुगेको थियो । उनले आफूहरू पुग्दा घर पूरै क्षतिग्रस्त भइसकेको बताए । संयोगले उक्त घरमा आगलागी भएको दिन कोही थिएनन् । गैरसरकारी संस्थामा काम गर्ने भरत शनिबार सदरमुकामतिर बसेका थिए ।

पाँच वर्षअघि मात्रै बनाएको घरमा आगो लागेपछि भरतको परिवार विस्थापित भएको छ । मुकुन्द पनि परिवारका कसैको सम्पर्कमा नरहेको आफन्तले बताएका छन् । ‘न भाइ मुकुन्द सम्पर्कमा छ न त घर नै रह्यो,’ भरतले भने, ‘जातीयताका आधारमा गरेको यो अत्याचार सहनलायक होइन ।’

जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएको बयान दिएका छन् । ‘पहिले पनि यही विषयमा विवाद भएको रहेछ । बहिनी भगाएको रिस थाम्न नसकेर घर जलाइदिएको खुलेको छ,’ जोशीले भने ।

गिडीखोलाको उक्त बस्तीमा २८ घरधुरी दलित समुदाय छन् । गाउँलेहरू दुवै जनालाई खोजेर ल्याएपछि छलफल गर्ने तयारीमा थिए । स्थानीय दलित समुदायका अगुवाहरूले गैरदलित समुदायकी किशोरी ‘विवाह’ गरेकै कारण घर जलाइएकोमा आक्रोश पोखेका छन् । ‘भागेका दुई जनालाई खोजेर छलफलमा राखे समाधान निस्किहाल्थ्यो नि,’ स्थानीय धनश्री नेपालीले भने ।

भरतले बिहानै घर जलाएको आरोपमा किशोरीका बुबा, काका र दाजुको नाममा प्रहरी चौकी हाँकुमा निवेदन दिएका थिए । निवेदनका आधारमा हिम्मतलाई तारा एयरको जहाज चढेर नेपालगन्ज उड्ने तयारीमा रहेका बेला सदरमुकाम खलंगाको कालेखोलीदेखि प्रहरीले नियन्त्रणमा लिएको हो । आगलागीबाट ६५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

मुकुन्द र ती किशोरीको घर करिब एक किलोमिटर दूरीमा छ । सदरमुकाममा बसेर पढ्दै आएका मुकुन्द १२ कक्षा सकेर स्नातक पढ्ने तयारीमा थिए । स्थानीयका अनुसार ती किशोरी गाउँकै स्कुलमा पढ्थिन् । किशोरीको खोजीका लागि कर्णाली प्रदेशभरिका प्रहरी इकाइलाई खबर गरिएको इन्सपेक्टर जोशीले बताए ।

प्रतिक्रिया